बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलमा ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर न्यूज

१८ फागुन २०७६ १०:२७

बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलमा ज्येष्ठ नागरिक सम्मानित

भक्तपुर । बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलको ३२ औँ वार्षिकोत्सव समारोहमा सयजना भन्दा बढी ज्येष्ठ नागरिक सम्मानित भएका छन् । उक्त स्कूलले हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रममा शिक्षासेवी, समाजसेवी एवं नेमकिपाका पूर्व केन्द्रीय सदस्य बुद्धिकुमार गोसाईलगायत विद्यार्थीका ७५ वर्षमाथिका १०१ जना हजुरबुबा–हजुरआमाहरूलाई दोसल्ला ओढाई उपहारसहित सम्मानित गरेको हो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं बाल विकास इङ्गलिश सेकेन्डरी स्कूलका संस्थापक सदस्य सुनिल प्रजापतिले हजुरबुबा–हजुरआमाहरूलाई सम्मानित गर्दै पुरानो पुस्तालाई आदर र हेरचाह गर्ने हाम्रो राम्रो संस्कार नयाँ पुस्तालाई सिकाउँदै जानुपर्ने बताए ।

शिक्षाको माध्यमले समाज परिवर्तन गर्ने उद्देश्यले ३२ वर्ष अगाडि विद्यालय स्थापना गरेको बताउँदै उनले विद्यालयमा अध्ययन गरेका धेरै विद्यार्थीहरू डाक्टर, इन्जिनियर, प्राध्यापक, वैज्ञानिक, शिक्षक, नर्स, राष्ट्रसेवक कर्मचारी आदि बनेको जानकारीले सन्तोष मिलेको बताए ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरलाई ऐतिहासिक सम्पदा, शिक्षा र पर्यटनको गन्तव्य बनाउने ध्येयले नेपाल मजदुर किसान पार्टीको नीति र निर्देशनअनुसार काम गरिरहेको स्पष्ट पार्दै त्यसमा सम्पूर्ण विद्यालय, शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको सहयोग अपेक्षित छ भने ।

उनले आसन्न भक्तपुर महोत्सव भव्यतापूर्वक सफल पार्न सबै नगरवासी र सरोकारवाला सबैको सक्रिय सहभागिताको निम्ति अनुरोध गरे । कार्यक्रममा स्कूलका प्रिन्सिपल एवं वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले अग्रज पुस्ताको सम्मान गर्न नजान्ने समाजले साँचो अर्थमा प्रगति गर्न नसक्ने औँल्याउँदै हजुरबुबा–हजुरआमा सम्मान कार्यक्रम विद्यार्थीहरूलाई सिकाउने प्रक्रियाकै एउटा भाग भएको बताए।

देश शासकहरूकै अदूरदर्शिता र देशघाती नीति निर्णयका कारण खतरामा पर्दै गएको औँल्याउँदै विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीहरूले शिक्षाको साथसाथै देश र समाजको बारेमा चिन्तन र छलफल गर्न आवश्यक भएको बताए।

हामीले नयाँ पुस्तालाई शिक्षा दिएर विदेशमा भासिने, नेपालको नागरिकता त्यागेर विदेशी नागरिक बन्न जाने र विदेशीकै सेवा गर्ने जमात तयार गर्नेभन्दा देश, जनता, समाज र माटोको सेवा गर्ने देशभक्त नागरिक तयार गर्न आवश्यक भएको बताए।

नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सांसद सृजना साँयजूले देशको सार्वभौमिकता खतरामा परेको बेला पारिवारिक र पेशागत जिम्मेवारीभन्दा माथि उठेर देशको निम्ति आन्दोलित हुनुपर्छ भने।

संरा अमेरिकाको डलरले संसारमा कुनै देश विकास नभएको बरू ध्वंस र बर्बाद भएको बताउँदै उनले एमसीसी परियोजनाका नाममा शासकहरूले देशको सार्वभौमिकता संरा अमेरिकी संस्था – एमसीसी र भारतलाई बुझाउन तयार भइरहेको बताए ।

उनले एमसीसी सम्झौता सङ्घीय संसद्बाट पारित हुन नदिन सबैजनाले आ–आफ्नो स्थानबाट शासक पार्टीहरूमाथि दबाब सिर्जना गर्नुपर्छ भने ।

साम्राज्यवादीहरू कहिल्यै दयावान र सहानुभूतिशील नहुने चर्चा गर्दै सांसद साँयजूले छिमेकी देश चीन कोरोना भाइरसको सङ्क्रमणविरूद्ध लडिरहँदा साम्राज्यवादी र प्रतिक्रियावादीहरू चीन सरकार र चीनको समाजवादविरूद्ध भ्रामक प्रचारबाजीका माध्यमबाट हमला गरिरहेको बताए।

सभापतिको आसनबाट स्कूल व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षासेवी मोहनप्रसाद प्रजापतिले अभिभावकका राम्रा र नराम्रा व्यवहारको प्रभाव बालबालिकामा पर्ने तथ्य औँल्याउँदै अभिभावकहरूले आफ्नो बोली र व्यवहार सुधार्नुपर्नेमा जोड दिए ।  विद्यार्थी तथा शिक्षिकाहरूले चिनियाँ भाषाका गीतमा आकर्षक नृत्यहरू प्रस्तुत गरेर कोरोना भाइरसको सङ्क्रमणविरूद्ध लडिरहेको छिमेकी देश चीन र चिनियाँ जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका थिए ।

प्रकाशित मितिः २०७६ फागुन १८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *