कोरोना भाइरस प्रकोेप : हालसम्म १६६२ जनाको मृत्यु , ६८ हजारभन्दा बढी संक्रमित
काठमाडौं । चीनमा कोरोना भाइरसका कारण हालसम्म १६६२ जनाको मृत्यु भएको छ भने ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसबारे अनुसन्धानमा जुटेका वैज्ञानिकहरुका अनुसार यस भाइरसले २.२ जना व्यक्तिलाई संक्रमति गराइरहेको छ ।
अन्य भाइरसको अनुपात भने १।३ रहेको उनीहरुले बताएका छन् । हालसम्म यस भाइरस नियन्त्रण गर्ने भ्याक्सिन पत्ता लागेको छैन ।
विश्व स्वास्थ्य संगठनले यो भाइरस नियन्त्रणका लागि १८ महिनापछि मात्र भ्याक्सिन आउने बताएको छ । उता ओलम्पिक गर्ने वा नगर्ने दोधारमा जापान रहेको छ । जापानलाई ओलम्पिक सार्न दबाब आइरहेको बताइएको छ ।
यता भाइरसविरुद्ध अग्रमोर्चामा खटिएका चिकित्सक तथा नर्समध्ये झण्डै १८०० जना भाइरसबाट संक्रमित भएका छन् । भाइरसबाट संक्रमित स्वास्थ्यकर्मीमध्ये ६ जनाको ज्यान गइसकेको छ ।
यो भाइरस ३५ वटा भन्दा बढी देशमा फैलिइरहेको छ । बुहान क्षेत्रमा रहेका शवदाहहरु शवैशव भएका छन् । शवको व्यवस्था गर्न खटिएका व्यक्तिहरुमा समेत मानसिक समस्या देखिएको बताइएको छ । चीन सरकारले भने कोरोना भाइरसलाई चाँडै नै नियन्त्रणमा लिने आश्वासन दिदै आइरहेको छ ।
प्रकाशित मितिः २०७६ फागुन ४ आइतबार