चीनबाट ल्याइने नेपालीलाई राख्न खरिपाटीको तालिम केन्द्रमा भवन खाली गरियो

भक्तपुर न्यूज

२५ माघ २०७६ ९:३४

चीनबाट ल्याइने नेपालीलाई राख्न खरिपाटीको तालिम केन्द्रमा भवन खाली गरियो

भक्तपुर । चीनबाट उद्धार गरी ल्याइने नेपालीलाई क्वारेन्टाइनमा राख्न सरकारले देशका बिभिन्न स्थानमा राख्ने निर्णय गरेसँगै भक्तपुरको खरिपाटि स्थित् नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा तयारी शुरु गरेको छ ।

उनीहरुलाई भक्तपुरका दुई स्थान सूर्यबिनायक र खरिपाटि तालिम केन्द्रमा राख्ने सरकारले जानकारी दिए लगत्तै शुक्रबारबाटै नै तालिम केन्द्रका दुई वटा भवन खालि गरिएको छ ।

केन्द्रका अनुसार वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलको भवनमा ५० कोठा खाली गरिएको हो । कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई चीनबाट ल्याएपछि क्वारेन्टाइनमा राख्न केन्द्र छानिएको हो ।

सरकारले चीनको हुवेई प्रान्तमा रहेका १ सय ८० विद्यार्थीलाई नेपाल फर्काउँदै छ । स्वदेश फर्काएपछि उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्न छुट्टै ठाउँ व्यवस्था गर्न लागिएको हो ।

नेपाल सरकारले खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्र चयन गरेको भन्ने सुनेपछि स्थानीय बासिन्दा भने विरोधमा उत्रिएका छन् । उनीहरूले बुधबार कालो झन्डासहित चाँगुनारायण नगरपालिका घेराउ गरेका थिए भने केन्द्रको प्रवेशद्वारमा नारा लेखेको ब्यानर झुन्ड्याएका थिए । उनीहरूलाई केन्द्रमा क्वारेन्टाइनमा राख्ने निर्णय फिर्ता लिन सरकारसँग मागगरेका छन् ।

चाँगुनारायण नगरपालिकाको छैटौं नगरसभाले शुक्रबार क्वारेन्टाइनका लागि खरिपाटीको विकल्प खोज्न सरकारलाई अनुरोध गरेको छ ।

प्रकाशित मितिः २०७६ माघ २५ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *