एयर एम्बुलेन्स मार्फत शरीफलाई पाकिस्तानबाट लण्डन लगियो

भक्तपुर न्यूज

३ मंसिर २०७६ ८:०१

एयर एम्बुलेन्स मार्फत शरीफलाई पाकिस्तानबाट लण्डन लगियो

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई उपचारका लागि बेलायत लगिएको छ । एयर एम्बुलेन्स मार्फत शरीफलाई पाकिस्तानबाट लण्डन लगिएको हो ।

भ्रष्टाचार अभियोगमा जेल सजाय काटिरहेका शरीफको स्वास्थ्य विगत केही समयदेखि खराब रहेको छ । तीनपटक पाकिस्तानको प्रधानमन्त्री बनेका शरीफको रोग प्रतिरोधात्मक प्रणालीमा समस्या देखिएको छ । यस्तै उनमा अरु स्वास्थ्य समस्याहरु पनि छन् ।

उनीमाथि रहेको विदेश भ्रमण प्रतिबन्ध पाकिस्तानको सर्वोच्च अदालतले गएको शनिबार फुकुवा गरेको थियो । सरकारले त्यसलाई सोमाबार स्वीकृत गरेपछि शरीफ मंगलबार उपचारका लागि लण्डन गएका हुन् ।

प्रधानमन्त्री इमरान खानको सरकार शरीफलाई रिहा गर्न इच्छुक छैन । सरकारले उपचारका लागि विदेश जानु पूर्व शरीफले ४४ मिलियन अमेरिकी डलर बराबरको क्षतिपूर्ति सम्बन्धी पत्रमा हस्ताक्षर गरुन् भन्ने चाहन्थ्यो ।

तर अदालतले शरीफलाई सो पत्रमा हस्ताक्षर नगरी उपचारका लागि बाहिर जाने अनुमति दिएको हो। पछिल्लो महिनाभर पाकिस्तानमा उनीमाथि रहेको भ्रमण प्रतिबन्धको समाचारले प्राथमिकता पायो।

गएको महिना शरीफको रगतमा प्लेटलेटको मात्रा १६ हजारमा झरेको थियो । स्वस्थ व्यक्तिमा यसको मात्रा झण्डै एक लाख ५० हजार हुनु पर्छ। ६९ वर्षका शरीफलाई कार्डियाक समस्या पनि छ। उनलाई मधुमेह तथा मृगौलाको पनि समस्या छ । एजेन्सी

प्रकाशित मितिः २०७६ मंसिर ३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *