“नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र : देउवा
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रूपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
नेपालीहरूको महान् चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उनले सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्ने कामना गरेका छन् ।
दीपावलीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सभापति देउवाले “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक वेषभूषासहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहीत बन्धुत्व भावले विविधताका बीचमा अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ,” भनेका छन् ।
तिहारका हरेक दिनले समस्त नेपालीहरूमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरू बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सन्देशमा उनले उल्लेख गरेका छन् ।
यस्तै काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल संवत् ११४० को सुखद अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सभापतिले देउवाले आज जारी गरेको शुभकामना सन्देशमा वाग्मती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थानकाल मानिएको तथा नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर भएको तथा नेपाल संवत्का प्रणेता शङ्खधर शाख्वाको योगदानलाई सम्झदै अति परोपकारी शाख्वालाई उनको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रूपमा सम्मान गरिएको भनेका छन् ।
हाम्रो पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सक्यौं भने मात्र हाम्रो देशलाई शान्त, समृद्ध र समुन्नत राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गर्दै उनले सन्देशमा नेपालको आफ्नै धर्तीबाट उठेको नेपाल संवत्को नयाँ दिनले नेपाललाई समुन्नत राष्ट्रमा रुपान्तरण गर्ने प्रेरणा र सन्देश सबैमा मिलोस् भन्ने कामना गरेका छन् ।
प्रकाशित मितिः २०७६ कार्तिक १२ मंगलबार