जापानी सरकारले सम्राटको शुभराज्याभिषेक स्थगित गर्नसक्ने

भक्तपुर न्यूज

३० असोज २०७६ १०:१७

जापानी सरकारले सम्राटको शुभराज्याभिषेक स्थगित गर्नसक्ने

काठमाडौं । जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानको सरकारी टेलिभिजन एनएचकेले बिहीबार जापान सरकारले सम्राट नारुहितोको शुभराज्याभिषेक समारोह स्थगित गर्नेतर्फ विचार गरिरहेको जनाएको छ ।

‘हागिबिस’ नाम दिइएको आँधीका कारण जापानमा व्यापक जनधनको क्षति भएका कारण निर्धारित मितिमा शुभराज्याभिषेक हुन कठिन रहेको सरकारी अधिकारीहरुको भनाई उद्धृत गर्दै एनएचकेले समाचार प्रशारण गरेको छ । आँधीका कारण ८० जनाभन्दा बढीको मृत्यु भएको छ भने अरु केही व्यक्ति अझै बेपत्ता छन्। सरकारले खोज तथा उद्धारको कार्य जारी राखेको छ ।

जापान सरकारले यही अक्टोबर २२ का लागि शुभराज्यभिषेकको मिति तय गरेको थियो । राज्यभिषेकका अवसरमा विदेशी विशिष्ट पाहुनाहरुलाई आमन्त्रण गरिएको छ । एनएचकेका अनुसार अहिले सरकारको मुख्य प्राथमिकता नै राहत र उद्धारमा केन्द्रित रहेकाले अक्टोबर २२ को कार्यक्रम स्थगित गर्न सरकारले तयारी गरिरहेको छ ।

एएफपीले उक्त विषयमा शुभराज्यभिषेक आयोजक समितिसँग राखेको जिज्ञासामा यस बारेमा केही निर्णय भैनसकेकाले केही बताउन नसकिने जनाएका छन् । जापानी सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि छोरा नारुहितोलाई गत वर्ष जापानी सम्राट घोषणा गरिएको थियो । एजेन्सी

प्रकाशित मितिः २०७६ असोज ३० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *