चिनियाँ राष्ट्रपति आज भारत जाँदै
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिंगबीच आज चेन्नाईको महाबलीपुरममा भेटवार्ता हुँदैछ । तमिलनाडु राज्यको समुद्र किनारस्थित ऐतिहासिक महत्व रहेको ठाउँमा दुई ठूला राष्ट्रका नेता भेटघाट गर्नेछन् ।
सी ११ देखि १२ अक्टोबरसम्म भारतको यात्रामा छन् त्यसपछि उनी नेपाल आउने छन् । सी र मोदीको भेटघाटका लागि महाबलीपुरम किन छनौट गरियो यसबारे अनेकन टिप्पणी भइरहेका छन् । उच्चस्तरीय भेटवार्ताका लागि तमिलनाडुलाई छनौट गरिएको बारे भारतीय विदेश मन्त्रालयले कुनै जानकारी दिएको छैन ।
तर वरिष्ठ पत्रकार आरके राधाकृष्णन भन्छन् ‘यो राजनीति हो । सत्तारुढ भाजपा तमिलनाडुका बासिन्दाहरुलाई आकर्षित गर्न चाहन्छ यो सिर्फ त्यसकै एक हिस्सा हो ।’
महाबलीपुरम चेन्नाईबाट झण्डै ६२ किलोमिटरको दूरीमा छ । यो ठाउँ यूनेस्कोको सूचीमा रहेको ऐतिहासिक धरोहर मध्ये एक हो । एक पत्थरलाई काटेर बनाइएको रथ, पल्लव वंशको गुफा र मन्दिर त्यहाँका प्रमुख पर्यटन स्थल हुन् । महाबलीपुरम तमिलनाडुको सबैभन्दा प्रमुख पर्यटकीय क्षेत्र हो ।
महाबलीपुरममा यी दुई नेता कुन क्षेत्रमा भेटवार्ता गर्नेछन् त्यसको सूचना अहिलेसम्म दिइएको छैन । दुवै नेता समुद्र किनारमा बनेको मन्दिर हेर्न जान सक्ने अनुमान भने गरिएको छ ।त्यहाँ एक यस्तो ठाउँ पनि छ जहाँ पत्थर काटेर केही कथा लेखिएका छन् । त्यसमा एक अर्जुनको तपस्यारत कृति पनि छ । मोदी र सी त्यहाँ पनि जान सक्ने सम्भावना छ ।
सी को स्गावतका लागि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था बढाइएको छ भने सडक मर्मत गरेर चिटिक्क पारिएको छ । सबै प्रमुख क्षेत्रमा सिसिटिभी लगाइएको छ । स्थानीय प्रहरीले होटलमा रहनेहरुको विवरण पनि तयार पारेको छ । चार अक्टोबर देखि माछा मार्ने काम पनि बन्द गराइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २४ शुक्रबार