इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ नै किन?

भक्तपुर न्यूज

६ असोज २०७६ ९:२४

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ नै किन?

। श्रीकृष्ण सुलु ।

विज्ञानमा व्यवहार या व्यापार जोडिएपछि प्रविधि बन्छ। हाम्रो दैनिक जीवन दिनानुदिन प्रविधिमय बन्दै गइरहेको छ।

हामी दैनिकजसो मोबाइलमा कुरा गर्छौं। कोशौ टाढासम्म भिडिओ च्याट गर्छौं। कम्प्युटर या ल्यापटप चलाउछौं, इन्टरनेटमार्फत् समाचार या सूचना हेर्छौं, खेल खेल्छौं। फेसबुक या ट्विटर अकाउन्ट प्रयोग गर्छौं।

भाइबर, इमो, व्हाटस एप, यु ट्युब आदि सबैको प्यारो बनेको छ। सूचना तथा सञ्चारको यति विधि विकास भएको यो समयलाई सूचना तथा सञ्चार प्रविधिको युग पनि भनिन्छ।

सूचना तथा सञ्चार प्रविधिको औपचारिक अध्ययन अध्यापन इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङमा गराइन्छ। विशेष गरी हार्डवेयरसम्बन्धी अध्ययनलाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ र सफ्टवेयरसम्बन्धी अध्ययनलाई कम्प्युटर इन्जिनियरिङ भनिन्छ ।

मनोरन्जनदेखि औषधि उपचारसम्ममा प्रयोग

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको प्रयोग जीवनका हरेक झैं पक्षमा भइरहेको छ। मनोरन्जनदेखि औषधि उपचारसम्म यसको प्रयोग भएको पाइन्छ। भिडि­­ओ गेम, एनिमेटेड चलचित्रदेखि औषधिमूलो र जटिल अपरेसनसम्ममा इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको व्यापक प्रयोग भइरहेको छ। त्यस्तै कला र वाणिज्य, कार्यालय स्वचालितिकरण, व्यापार भिजुलाइजेसन, वैज्ञानिक अनुसन्धान, कम्युटर एडेड डिजाइन एण्ड ड्राफ्टिङ, भर्चुअल रियालिटीलगायत झन् भन्दा झन् नयाँ क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग भइरहेकोले यसको महत्व अझ बढ्दैछ। र, सूचना प्रविधि मानवनिर्मित दोस्रो प्रकृति भएको छ।

इन्टरनेटमार्फत् भुक्तानी र अनलाइन किनमेल

पहिला पहिला बिजुली, पानी, टेलिफोन, आदिको बिल तिर्न घण्टौ लाइन बस्नु पर्थ्यो, पैसा तिर्न अफिसमै पुग्नु पर्थ्यो। अहिले यी सबै काम इन्टरनेट र मोबाइलमार्फत् क्लिकको भरमा एकै क्षणमा हुन्छ। इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङबाट शुल्क भुक्तानी, एटिएम, डेबिट कार्ड, क्रेडिट कार्डको प्रयोग, ई–कमर्स, ई–विजनेस र इन्टरनेटमार्फत् सामानहरूको अनलाइन किनमेल सामान्य भइसकेको छ।

अनलाइन जानकारी र कम्पुटराइज्ड सेवा सुविधा

एसएलसीको नतिजा हेर्न पनि पहिला कति दिन कुर्नुपर्थ्यो। घाम लागेन भने नापी कार्यालयबाट नक्सा निकाल्न मिल्दैन्थ्यो। ठेक्कापट्टामा व्यापक गुण्डागर्दी हुन्थ्यो। नामावलीमा नाम नभएको जानकारी नहुँदा कतिले टिकट पाएर नि उम्मेदवार हुन पाउँथेनन्।

सरकारी काममा मनपरी, बल मिचाइ, र पट्यारलाग्दो ढिलासुस्तीले अफिस जानु जेल जानु जस्तो कष्टमय थियो। सूचना तथा सञ्चार प्रविधिको प्रयोगले यी समस्याहरू केही हदसम्म हल भएको छ।

अहिले निजी, सरकारी, गैरसरकारी वा सामाजिक संघसंस्था, कार्यालय, विद्यालय, उद्योग, कलकारखानाहरूले इन्टरनेटमार्फत् अनलाइन जानकारी र सेवा सुविधाहरू उपलब्ध गराइरहेका छन् भने कतिपय काम कम्प्युटरबाट हुनाले धेरै सजिलो र भरपर्दो भएको छ।

संसार ‘अटाउने’ मोबाइल

प्रविधिको विकासले सानो चिप्समा पनि धेरै चीज अटाउने भएको छ। एउटै मोबाइलमै हजारौंको फोन नम्बर रेकर्ड गर्न सकिन्छ, लाखौं फोटो र भिडिओ राख्न सकिन्छ, अथाह तथ्याङ्क र सूचनाहरू सुरक्षित गर्न सकिन्छ, विश्व समाचार हेर्न सकिन्छ, आर्थिक कारोबार गर्न सकिन्छ, खेलकुद प्रतियोगिता या अन्य रुचिको विषयबारे प्रत्यक्ष हेर्न सकिन्छ। यो सबैको देन इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको विकासलाई जान्छ।

यान्त्रिकीकरणबाट स्वचालितकरणको युगमा प्रवेश

इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रिकल मेकानिकल इन्जिनियरिङको सहकार्यमा औद्योगिकीकरण र यान्त्रिकीकरण मात्र बढेन अपितु स्वचालितकरण समेत भएको छ। त्यसैले अहिलेको जमानालाई स्वचालितकरणको जमाना पनि भनिन्छ।

अहिले भाषा रूपान्तरण, होलोग्राम, स्वचालित र सचेत रोबोटसम्मको विकासले नवीनतम र दिमागी प्रविधि भनेर सूचना प्रविधिलाई मानिन्छ। अब भविष्यको विकास भनेको नै इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको विकास जस्तै भएको छ।

सूचना प्रविधिको ज्ञान नहुनु आँखा नहुनु बराबर

मानव सिर्जित नविनतम ज्ञानको स्रोत सूचना प्रविधि भएको छ। इन्टरनेटमा प्राय: खोजेको सबैजसो कुरा भेटिन्छ। इन्टरनेटमार्फत् आफ्नो वा आफ्नो उत्पादनको विज्ञापनदेखि आफ्नो रुची अनुसारको अन्वेषणसम्म गर्न सकिन्छ।

यसलाई उपयोग गर्न जानिएन भने धेरै पछि परिन्छ। त्यसैले सूचना प्रविधिको ज्ञान नहुनु आँखा नहुनु जतिकै भइसकेको छ।

सूचना चुहावट र निगरानीको युग

प्रविधिको उपयोग अहिले उत्पादन, रूपान्तरण र वितरण बढाउने काममा मात्र सीमित छैन। अहिले त प्रविधिको प्रयोग सूचना चोर्ने र निगरानीमा राख्ने सम्मको गम्भीर काममा भइरहेको पाइन्छ।

अहिलेको चीन- अमेरिका व्यापार युद्ध वा हुवावे वा ५ जि प्रकरण पनि यसैको नयाँ कडी हो। कृत्रिम बुद्धिमताको प्रयोग गरी स्वचालितकरण, यन्त्र सिकाइ, यन्त्र दृष्टि, प्राकृतिक भाषा प्रणाली, प्याटर्न पहिचान, रोबोटिक्स आदिको विकासको कारण अब सूचना प्रविधिको क्षेत्र बिराट बनेको छ। अब देशमै यस्ता अत्याधुनिक प्रविधि विकास नगर्ने हो भने देशका गोप्य सूचना चोरी हुन सक्ने र संवेदनशील क्षेत्र समेत थाहा नपाई निगरानीमा हुने सक्ने खतरा छ।

सूचना चुहावट रोक्न डाटालाई बिग्रिन र नष्ट हुनबाट जोगाउनु, डाटाको गोप्यता, उपलब्धता र सत्यतालाई जोगाइ राख्ने र अनाधिकारिक प्रयोग हुनबाट सुरक्षित गर्नु, अहिलेको अहम आवश्यकता भएको छ।

भाइरस र ह्याकरबाट डिजिटल डाटा सुरक्षित बनाउन सकिएन भने ठूलो दुर्घटना हुन सक्छ। त्यसैले सूचना र संचार प्रविधिको अध्ययन,अध्यापन र अन्वेषणमा जोड दिनु अनिवार्य छ।

असान्जको जमाना

अहिले जोसँग सूचना प्रविधि छ। उसले जित्ने वा ऊ नै सबभन्दा शक्तिशाली बन्ने जमाना आएको छ। महाशक्ति भनिएका देशहरूलाई पनि एउटा पत्रकार जुलियन असान्जले हल्लाइ दिएको छ। त्यसैले अहिलेको जमानालाई असान्जको जमाना पनि भनिन्छ।

अब सूचना प्रविधिमा नियन्त्रण हुनेले नै संसार नियन्त्रणमा लिनेछ। यसैले इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ शिक्षाको महत्व बढ्दै छ।

इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङको ७० प्रतिशत कोर्ष मिल्छ

इलेक्ट्रोनिक्स इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको ७० प्रतिशतभन्दा बढी सिलेबस या कोर्ष मिल्छ। इलेक्ट्रोनिक्समा कम्युनिकेसनका विषयतिर बढी जोड दिइन्छ भने कम्प्युटरमा डाटावेस र प्रोग्रामिङतिर बढी जोड दिइन्छ।

इलेक्ट्रोनिक्स इन्जिनियरिङ बढी हार्डवेयर केन्द्रित र कम्प्युटर इन्जिनियरिङ बढी सफ्टवेयर केन्द्रित भए पनि इलेक्ट्रोनिक्स इन्जिनियरले पनि सफ्टवेयरसम्बन्धी काम पनि गरिरहेको हामी देख्छौं।

रोजगारीका अनेक क्षेत्र

कम्प्युटर इन्जिनियरले गर्ने नेटवर्किङ, प्रोग्राममिङ, वेबसाइट डिजाइन, डाटावेस, इमेज प्रोसेसिङका काम इलेक्ट्रोनिक्स इन्जिनियरले पनि गरिरहेको पाइन्छ। नेपालमा आइटी कम्पनीहरू, इन्टरनेट सेवा प्रदायक कम्पनीहरू, दूरसञ्चार कम्पनीहरू, हार्डवेयर कम्पनीहरू, सफ्टवेयर कम्पनीहरू, वेबसाइट बनाउने कम्पनीहरू, रेडियो टेलिभिजन, उड्डयन, स्याटेलाइट अफिसहरू, निजी, सरकारी, गैरसरकारी कार्यालय, सङ्घसंस्था, विद्यालय, उद्योग, कलकारखानाहरूका सूचना प्रविधिसम्बधी कामहरू इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरहरूका रोजगारीका क्षेत्र हुन्।

ग्लोबल क्यारियर

सूचना प्रविधिको ज्ञान, सीप र अनुभव विश्वव्यापी छ। कति पेशामा एक ठाउँको अनुभव अर्को ठाउँमा काम लाग्दैन। तर सूचना प्रविधिको अनुभव विश्वभर काम लाग्छ। सूचना प्रविधिको कामलाई ग्लोबल क्यारियर भनिन्छ।

राम्रो आम्दानी र अबको भविष्य

सूचना प्रविधि विश्वमा सबभन्दा धेरै आम्दानी हुने पेशामा मात्र पर्दैन, भविष्यको रोजगारीको ठूलो क्षेत्र पनि यही हुने देखिन्छ। एक अध्ययन अनुसार अमेरिकामा अहिलेका काममध्ये ४७ प्रतिशतले भविष्यमा निरन्तरता पाउने सम्भावना छैन। प्रविधिसँग सामञ्जस्य भएन भने आजको ज्ञान तथा सीप केही वर्षपछि काम नलाग्न सक्ने खतरा बढेको र हाइब्रिड कामको जमाना आएकोले अबको भविष्य भनेकै सूचना प्रविधि बनेको छ।

नेपालमै बसी बिदेसी मुद्रा कमाउन सकिने

सूचना प्रविधिसम्बन्धी कति काम विदेशी कम्पनीलाई पनि दिइरहेको हुन्छ। विदेशी कम्पनीहरूलाई काम दिँदा नेपाली इन्जिनियरहरूलाई अनिवार्यरूपमा काम गराउनु पर्ने प्रावधान राखेमा थप रोजगारी सिर्जना हुने देखिन्छ।

सूचना र संचारका प्रविधिको काम विश्वको कुनै स्थानमा बसेर गर्न सकिन्छ। नेपालमै बसेर संसारभरको काम नेपालमै गर्न सकिन्छ। नेपाल जस्तो श्रम सस्तो भएको देशले आउट सोर्सिङबाट नेपालमै बसी विदेशी मुद्रा कमाउन सकिन्छ।

(लेखक काठमाडौं इन्जिनियरिङ कलेजका एसोसियट प्रोफेसर तथा कम्प्युटर इन्जिनियर हुन्।)

सेतोपाटी अनलाइनबाट साभार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *