हनुमानढोकाका जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापनाबाट पछि हट्यो युनेस्को

भक्तपुर न्यूज

२४ असार २०७६ ८:११

हनुमानढोकाका जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापनाबाट पछि हट्यो युनेस्को

काठमाडौं । युनेस्कोले हनुमानढोका दरवारक्षेत्रमा अवस्थित जगन्नाथ र गोपीनाथ मन्दिर पुनःस्थापना कार्य फिर्ता लिएको छ । कार्यस्थलमा काम गर्ने पुनःस्थापनाकर्मीहरुलाई धम्क्याउन थालिएपछि पुनःस्थापना कार्य बन्द गर्नु परेको युनेस्कोले जनाएको छ ।

युनेस्कोले पुनःस्थापना कार्यसँग सम्बन्धित सबै कागजपत्रहरू पुरातत्व विभागलाई हस्तान्तरण गरिसकेको छ ।

२०७२ को भूकम्पका कारण भत्किएका हनुमानढोका दरवारक्षेत्र विश्व सम्पदास्थलमा अवस्थित जगन्नाथ र श्रीकृष्ण महाविष्णु (गोपीनाथ) मन्दिर पुनःस्थापना कार्य फिर्ता लिनु पर्दा युनेस्कोले खेद प्रकट गरेको छ ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिश्चियन म्यानहार्टले भनेका छन्, ‘भूकम्पपश्चात नेपालका निर्मित सम्पदाहरुलाई संरक्षणका अन्तर्राष्ट्रिय सिद्धान्त एवं मापदण्ड अनुसार पुनःस्थापना गर्ने कार्यमा सरकारलाई सघाउने विस्तृत कार्यको एउटा हिस्साका रूपमा काठमाडौं उपत्यका विश्वसम्पदा स्थलभित्र सञ्चालित यी दुई महत्वपूर्ण मन्दिरहरूको पुनःस्थापना परियोजनाबाट पछि हट्नु पर्दा युनेस्को काठमाडौं कार्यालय अत्यन्तै दुःखी छ ।’

युनेस्कोले उक्त पुनःस्थापना कार्य पुरातत्व विभागको निकट साझेदारीमा जापान सरकार र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको आर्थिक सहयोगमा सञ्चालन गर्दै आएको थियो । पुनःस्थापना कार्यको शुरूवात १० डिसेम्वर २०१८ मा भएको थियो । यद्यपि अन्तर्राष्ट्रिय सहायताको सट्टा आफ्नै स्थानीय आर्थिक स्रोतमा मन्दिरहरू पुनःस्थापना गर्ने केही स्थानीय समुदायहरूको इच्छालाई दर्शाउँदै दबाव दिइएपछि २३ डिसेम्वरमा उक्त पुनःस्थापना कार्य रोकिएको थियो ।

यसबीचमा युनेस्कोले सम्बन्धित स्थानीय समुदायका सदस्यहरू, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, प्रदेश ३ का प्रदेशसभा सांसद राजेश शाक्यलगायतसँग छलफल गरेपछि १५ मे २०१९ देखि पुनःस्थापना कार्य फेरि सुरू गरिएको थियो । तर, धम्की नै दिन थालिएपछि काम बन्द गरेको युनेस्कोको भनाइ छ ।

‘कार्यस्थलमा काम गर्ने पुनःस्थापनाकर्मीहरुलाई धम्क्याउन थालिएपछि उक्त परियोजना बन्द गर्नु परेको थियो । विश्व सम्पदा स्थलका लागि आवश्यक अन्तर्राष्ट्रिय मापदण्डअनुसार सम्पन्न गरियोस् भनी पुनःस्थापना कार्यसँग सम्बन्धित सबै कागजपत्रहरू पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ,’ युनेस्कोद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

हाल अजरवैजानको बाकूमा चलिरहेको विश्व सम्पदा समितिको बैठकका क्रममा  पनि ४ जुलाई २०१९ मा काठमाडौं उपत्यकाका सम्पदा स्थलहरूको पुनःस्थापना कार्यमा भैरहेको प्रगतिका बारेमा चासो व्यक्त गरिएको छ । यद्यपि सुधार गर्न थप एक वर्षको समय प्रदान गर्दै समितिले काठमाडौं उपत्यकालाई खतराको सूचीमा भएका विश्व सम्पदाहरूमा सूचीकृत नगर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः २०७६ असार २४ मंगलवार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *