नर्सका मागप्रति डा गोविन्द केसी अलायन्सको ऐक्यबद्धता

भक्तपुर न्यूज

९ जेठ २०७६ ७:४५

नर्सका मागप्रति डा गोविन्द केसी अलायन्सको ऐक्यबद्धता

काठमाडौं । नर्सिङ क्षेत्र सुधार तथा नर्सहरुको पेशागत हकहित सुरक्षाको माग राखेर संघर्षरत अभियन्ताहरुको मागप्रति सोलिडारिटी फर डा गोविन्द केसी अलायन्सले ऐक्यबद्धता जनाएको छ ।

अलायन्सले आज विज्ञप्ति जारी गर्दै लामो समय चलेका संघर्षका अन्य रुपको सुनुवाइ नभएपछि अनशन बस्न बाध्य बनाइएकी नर्सिङ अभियन्ता जीता बरालको बिग्रंदो स्वास्थ्यप्रति गम्भीर ध्यानाकर्षण भएको भएको जनाउँदै अनशन झण्डै दुई हप्तासम्म लम्बिनु अनि माग सुनुवाइतर्फ सरकारले कुनै अग्रसरता नदेखाउनु खेदजनक भएको उल्लेख गरेको छ ।

अलायन्सले विज्ञप्तिमा भनेको छ, ‘नर्सिङलगायत स्वास्थ्य क्षेत्रका समस्याहरु रातारात उब्जिएका हैनन् र रातारात तिनलाई निमिट्यान्न पार्न सम्भव पनि छैन । तर सरकारले अहिले झैं सुधारका लागि सिन्को नभाँच्ने हो भने अरु दशकौंसम्म पनि अवस्था यही रहने निश्चित छ । भोलिका दिनमा अवस्था सुध्रियोस् भन्नका लागि पनि आज निर्णायक कदमहरु चालिनु जरुरी छ ।’

अनशनरत बरालको स्वास्थ्य र प्राणरक्षाका लागि आवश्यक कदम चाल्न पनि नेपाल सरकारका सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ । त्यसपछि सम्झौता कार्यान्वयनका लागि निरन्तर पहलकदमी लिन नेपाल नर्सिङ संघलगायत अभियन्ताहरुलाई गर्दै विज्ञप्तिमा ‘नर्सिङलगायत सबै स्वास्थ्यकर्मीहरुले आत्मसम्मानपूर्वक जीविका चल्ने गरी काम गर्ने अवस्था नआउन्जेल देशको स्वास्थ्य सेवा प्रवाहमा सुधार नहुने हुँदा समग्र स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा गोविन्द केसीले नेतृत्व गरेको अभियान पनि यो संघर्षसँग बलियो रुपमा जोडिएको’ उल्लेख छ ।

प्रकाशित मिति ः २०७६ जेठ ९, बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *