भविष्यको राजनीति
देवराज दाहाल । राजनीतिको भविष्यलाई पर्यावरणीय, सामाजिक, आर्थिक र विज्ञानको क्षेत्रमा विकसित भएको परिर्वतनले प्रभाव पार्दछ। समाजको धरातलीय परिर्वतन, यसको श्रम विभाजन ज्ञान र चेतनाको स्तरीयतासँगै राजनीतिक आदर्श, विचारधारा र तिनमा आधारित संस्थाहरुको भूमिकामा रुपान्तरण हुन्छ। जब समाजमा वर्गीय विषमता फराकिलो हुन्छ, नेतृत्वले सामाजिक न्यायको बारेमा वहस गर्दछन्। किनभने यस धारणाले समाजको ठूलो समूहलाई आकर्षण गर्दछ।
के नेताहरुले सामाजिक नेताहरुको प्रभावको आधारमा विचारको निर्माण गर्दछन्रु अथवा कारणको विश्लेषण गर्ने अभिभारा नीति निर्माणकर्तालाई दिन्छन्रु त्यस्तै लैङ्गिक विभेद वा जलवायु परिवर्तनले त्यस्तै खालको न्याायको अपेक्षा गर्दछ। नेतृत्वको जिम्मेवारी विषयगत नीति प्रतिपादन गरेर समस्याको निराकरण गर्नु हुन्छ। समस्याको पहिचान विवेकपूर्ण तरिकाले गरेमा यसको समाधान हुन्छ।
कुनै पनि सामाजिक समस्याको दिर्घकालीन समाजका लागि प्राविधिक ज्ञान पर्याप्त हुदैन किनभने समस्याको उजागर सामाजिक अन्तर–सम्वन्धको तनावबाट हुन्छ। आधारभूत कारणमा जानका लागि धरातलीय यथार्थमा पुग्नु आवश्यक हुन्छ।
राजनीति समस्या समाधान गर्ने क्षेत्र र विषय भएकाले यो अन्तर–विषयात्मक हुन्छ, विभिन्न पक्षसँग जेलिएको हुन्छ, दलीय मात्र हुँदैन। अतः समाजको जटिल समस्या समाधानका लागि राजनीतिले ज्ञान, नीति र कानुनको क्षेत्र फराकिलो बनाउनु आबश्यक छ। खासगरी नेपाल जस्तो विविधता भएको मुलुकको व्यवस्थापन गर्न विज्ञानको विकास त आभाष वा सोचाइबाट यर्थाथता र तथ्य तथा विषयगतबाट वस्तुगत ज्ञानको प्रवेशबाट हुन्छ। यसले नागरिकको जीवनको आन्तरिक पक्ष आत्मलाई विश्लेषण गर्दैन जसबाट उनीहरुले स्वतन्त्रता, आवेग, रिस, इर्ष्या, पश्चाताप वा सुखको अनुभुति हुन्छ। विज्ञानले नागरिकको वाह्यपक्षलाई प्रविधिको सहयोगद्वारा सहज र सुखी बनाउन सक्छ।
त्यसैले अष्टावक्र र प्लेटोले मानिसलाई आफू को हो चिन्न भनेका छन् र खासगरी चेतना, शिक्षा, सिकाइ र अनुभवबाट। यी तत्वहरुले मानिसको आन्तरिक र वाह्य पक्षबीच मध्यस्थता गर्न सकेनन् भने राजनीति ज्ञान, विचार र विवेकबीचको अँध्यारो छायाँमा रुमल्लिरहन्छ। एक अपूर्ण खेलको रुपमा, जसको अन्त्य हुँदैन। राजनीतिले स्वतन्त्रताको दायरा फराकिलो पारेमा नेपाली नागरिकले सार्वजनिक चासोको विषयहरुमा आफैँले निर्णय लिन सक्छन्।
यस अर्थमा राजनीति विज्ञानभन्दा फरक हुन्छ। विज्ञानको आयाम सरल हुन्छ तर प्रभाव व्यापक तर राजनीतिको आयाम नै व्यापक हुनाले यसले लिएका निर्णयहरुले समाजका हरेक पक्षलाई प्रभाव पार्दछ। अब प्रश्न उठ्दछ के राजनीतिक नेतृत्वमा आफूले गरेका सकारात्मक तथा नकारात्मक कामको प्रभावबाट उत्पन्न जिम्मेवारी लिने ज्ञान, क्षमता र विवेक हुन्छ जुन वैज्ञानिकले अत्मसात गरेका हुन्छन् र हुँदैन भने उनीहरुको निर्णयको वैधानिकता कसरी स्थापित हुन्छ र निर्वाचनलाई मात्र आधार बनाउन ठिक कि त्यसपछिको जनमत, नैतिक र वैज्ञानिक विश्लेषण पनि आवश्यक हुन्छरु कुनै पनि निर्णयमा विश्वासको आधार, तथ्यहरु, तर्कहरुको सुसंगति र वैज्ञानिक विधिशास्त्रमा सत्यताको मापन र पुष्टि भइरहन्छ। राजनीतिको काम समाजमा व्यवस्था र अमनचैन कायम गर्नु हो, सत्यताको खोजी त वैज्ञानिक र वुद्धिजिवीहरुले गर्दछन्। बरु नेतृत्वले सत्ताको जवाफदेहीता र आफूले गरेको प्रतिवद्धताको कार्यान्यनको कसीमा आफूलाई मापन गर्नुपर्दछ।
भविष्यमा राजनीतिलाई नीजिकरण गर्ने निकाय होइन कि सार्वजनिक क्षेत्रको चासोको रुपमा हेरिने छ। विज्ञानमा त जसले लगानी गर्यो, त्यसले नाफा असुल्छ। तर राजनीति सार्वजनिक हितको प्रवद्र्धन गर्ने क्षेत्र भएकाले पूर्वीय दर्शनमा रामराज्य र पश्चिममा प्लेटोले आदर्श राज्यको कल्पना गरे जसमा न्यायको सम्पादन व्यक्तिसम्म लाभ, प्रमाण र कानुनी विशेषज्ञको तर्कभन्दा पनि निमुखा र निर्दोषलाई गर्ने व्यवहारबाट झल्किन्छ। उनीहरुलाई पैसा, तर्क र व्यक्तिगत स्वार्थका आधारमा दण्ड दिनु अन्याय मात्र होइन कि अपराध पनि हो। यसले नर्कझैँ पीडा दिन्छ। अतः सार्वजनिक शिक्षाद्वारा असल चरित्रको निर्माणमा नेपाली सञ्चार, नागरिक समाज शैक्षिक संस्थाहरु र राजनीतिक दलहरु लाग्नु आवश्यक छ। किनभने भविष्यको राजनीतिले सार्वजनिक हितको प्रवद्धनमा नैतिकता र विवेकको अपेक्षा राख्ने छ।
नेपालको धेरै जस्तो मुक्तिकामी सामाजिक आन्दोलनहरु यसै दिशातिर लक्षित छन्। बौद्धिक विचार, इच्छा, भावना र आदर्शका आधारमा नेपाली नागरिकले नेतृत्वको मूल्याङ्कन गर्ने छन्। शिक्षाको बिस्तार, अधिकारप्रति चासो र संगठन निर्माणमा नेपाली नागरिकको जागरुकतालाई सूचना र प्रविधिले चलायमान बनाउने छ, जसले गर्दा आफू प्रभावित हुने हरेक क्षेत्रमा उनीहरुले सहभागिताको माग गर्ने छन्। सामाजिक सञ्चार र सञ्जालले हरेक नेपालीले सहभागिता सक्रिय भएका नेपाली नेतृत्व रुपान्तरणकारी र जबाफदेही हुन्छ। यसले शासन व्यवस्था सवल भई माग र आपूर्तिका समस्याहरु समाधान गर्न सहज हुन्छ।
नेपाली समाजको संगठन र राज्यको निर्माणमा यसको आफ्नै ज्ञानको इतिहासको भूमिका छ। त्यसको प्रयोगबाट संविधानका अन्तरविरोधहरु हटाउँदै लगेमा संस्थाहरुको स्थिरता, व्यवहारमा सुधार र सामाजिक रुपान्तरण दिगो हुन सक्दछ। नेपाली नागरिकले सत्ता,ज्ञान र सार्वजनिक तथा राष्ट्रिय हितको प्रवर्द्धनबीच समन्वय खोजेकाले नेपालको भविष्यको राजनीति जीवन निर्वाह, अस्तित्व र सम्मानका क्षेत्रहरुको बिस्तारमा उन्मुख हुने छ।
यस सन्दर्भमा राजनीतिक नेतृत्वको प्रमुख दायित्व भनेको नागरिकका अभावहरुको निराकरण गर्नु हो, आधारभूत आवश्यकताको पूर्तिद्वारा जुन नेपालको संविधानले परिकल्पना गरेको लोक कल्याणकारी राज्यको दायित्व पनि हो। आधारभूत आवश्यकताको पूर्तिको अभावमा मानवीय पक्षको अवमूल्यन हुन्छ।
दोस्रो प्रविधिको व्यापक प्रयोगद्वारा मानिस र जनावरले गर्ने कठिन श्रमको लागत घटाउँदै आधारभूत आम तथा सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक ध्रुवीकरण रोक्नु पनि हो। श्रम, अर्थतन्त्र र राजनीतिको लागत घटाउँदै लगेमा नेतृत्वले संविधानले परिकल्पना गरेको समावेशी र समतामूलक समाजको प्राप्तिको लागि बाटो निर्क्यौल गर्न सक्दछ। यसले स्वतन्त्रता नेपाली लोकतन्त्रको सामाजिक धरातल फराकिलो हुन सक्दछ। तर यसको लागि उत्पादन मूलक दिगो विकास अवश्यक हुन्छ।
तेस्रो लोकतन्त्रमा सत्ताको वर्चस्व कमजोर वर्ग र प्रकृति माथिको दोहन होइन, बरु उनीहरुको संरक्षण र दिगो अवसरहरुद्वारा असीमित सम्भावनाहरु खोज्नु हो। भविष्यमा नेपाली राजनीतिको मंल्याङ्कन कमजोरहरु, महिला, दलित र अल्पसंख्यकहरुको मानव अधिकारको संरक्षणबाट हुनेछ।
चौथो नेपाली नागरिकको भविष्यको लागि नेतृत्वले विभिन्न तह, तप्का र क्षेत्रमा बसोबास गर्नेहरुलाई जोड्ने रुपरेखाको मूल्य, विचार, नीति र संस्थाहरु कसरी निर्माण गर्दछ त्यसबाट सफलता देखिन्छ। यो नेपाली राज्यको निर्माणको राजनीतिक आधार पनि हो। भविष्यमा नेपाली नागरिकहरुमा प्रस्फुटन भएको चेतनाको लहरले उनीहरु आफ्नो क्षमता, ज्ञान र अनुभवद्वारा नयाँ राजनीतिक मूल्यको खोजी गरिरहेका छन्।
नेपाली राजनीतिकले ऐतिहासिक दायित्व र जनहितको काम गरेमा मात्र यसको उच्च मूल्याङ्कन हुने छ। यो नोकरशाहीमा रुपान्तरण भएमा यसले गरेको वाचा र प्रतिज्ञाको पूर्ण कार्यान्वयनको अभावमा आलोचना भोगिरहनु पर्ने छ। लोकतन्त्रले नयाँ युगमा नयाँ लोकतान्त्रिक संस्कारको अपेक्षा गर्दछ, राजनीतिमा।
आफ्नो अस्तित्वको खोज, दिमागी शान्ति र असल जीवनको प्राप्तिका लागि नेपालको राजनीति भविष्यमा पनि प्रतिस्पर्धा र संघर्षकै रुपमा रहने छ। असीमित इच्छा र प्रतिस्पर्धा नेपाली समाजलाई गतिशील बनाउने उर्जाको रुपमा रहँदा राजनीतिको साध्य र साधनबीच कठिन सामञ्जस्य रहने छ। सार्वजनिक र राष्ट्रिय हितले नेपाली राजनीति नेतृत्व र संगठनलाई डोर्याएमा यसले जीवनको मध्यमार्गको नियम पालना गर्न सक्ने छ जसबाट स्वतन्त्रता , व्यवस्था, प्रगति र शान्ति प्राप्त गर्न सहज हुन्छ।
राजनीति अहिंसात्मक रुपले खेलिने प्रक्रिया भएकाले नेपाली नेतृत्वले उग्रवाद, विभेद, हिंसा, आस्थिरता र राज्य व्यवस्थामा विद्यमान कानून र नैतिकता विरोधी क्रियाकलापद्वारा जकडिएको नेपाली समाजलाई लोकतान्त्रिक मध्यमार्गमा ल्याउन सक्नु पर्दछ। राजनीतिक ज्ञानले साना–साना विचार, विश्वास र पहिचानमूखी परिवेशलाई राष्ट्रिय सोचाईको धरातलमा ल्याएमा यसले गतिरोध , जडता र दिशाहीनताबाट मुलुकलाई मुक्त गर्न सक्दछ।
नेपाली संस्कृति र सभ्यताको विकास नै हिंसाको न्यूनीकरणबाट भएकाले नागरिकले खुला समाजको माध्यमद्वारा सामाजिक पूर्णताको अपेक्षा गरेका छन्। त्यस्तै यसको सहिष्णुता र लचकताको संस्कृति भविष्यमा प्रक्षेपण गर्नु जरुरी छ। यसमा वुद्धिजिवीहरुको योगदान भनेको इतिहासको विवेकी पक्षलाई प्रोत्साहन गर्दै सत्ताको समालोचनात्मक मूल्याङ्कनद्वारा नेतृत्वलाई जन अधिकार, इच्छा र आकांक्षाप्रति सामूहिक जिम्मेवारी वहन गराउने हो।
यसबाट विभिन्न समूहमा आवद्ध नेपाली नागरिकप्रति राज्य , अर्थतन्त्र, नागरिक समाजको समान चासो व्यक्त हुन सक्दछ। अनि उनीहरु सामाजिक नियन्त्रणबाट उचिततवरको स्वतन्त्रतातिर उन्मुख हुन सक्दछन्। परिवर्तित सन्दर्भले नेपाली राजनीतिको विचार, भाषा, परिकल्पना र मान्यता लोकतान्त्रिक दिशामा परिवर्तन गर्ने छ। यसले नयाँ यु्टोपिया र आर्दश खोज्ने छ, विश्वास र ज्ञानको बीचको द्वन्द्व चिर्दै।
नेपाली राजनीतिकले ऐतिहासिक दायित्व र जनहितको काम गरेमा मात्र यसको उच्च मूल्याङ्कन हुने छ। यो नोकरशाहीमा रुपान्तरण भएमा यसले गरेको वाचा र प्रतिज्ञाको पूर्ण कार्यान्वयनको अभावमा आलोचना भोगिरहनु पर्ने छ। लोकतन्त्रले नयाँ युगमा नयाँ लोकतान्त्रिक संस्कारको अपेक्षा गर्दछ, राजनीतिमा। देश सञ्चारबाट साभार
प्रकाशित मितिः२०७५ चैत २४ आइतबार