विपी कोइराला र मदन भण्डारी
। प्रदीप नेपाल ।
०४८ सालदेखि नेपाली राजनीतिमा दुई धार बगेका छन् र यो स्वाभाविक पनि हो । नेपाली कांग्रेसको पहिलो सरकारले नेपाललाई राजनीतिक संरचनाकै हिसाबले पुँजीवादी बनायो । कसैले नेपालमा विराटनगरमा पहिलो कारखाना खुलेदेखि नै नेपालमा पुँजीवाद प्रवेश गरेको हो भन्छन्, कोही ००७ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा पुँजीवादको प्रवेश भएको भन्छन् । भन्नु एउटा कुरा हो तर वास्तविकता सधैँ भनेजस्तो हुँदैन ।
संरचनागत हिसाबमा नेपाललाई पुँजीवादी बाटोमा हिँडाउने काम ०४८ को निर्वाचित सरकारले थालेको हो । ‘सबै उद्योगधन्दा राज्यको संरक्षणमा हुनुपर्छ’ भन्ने विपी कोइरालाको समाजवादी सोचलाई तरबारले काटेर ‘निजीकरण र उदारवाद’को सिद्धान्तको बाटोमा हिँडाउने विपी कोइरालाका भाइ गिरिजाप्रसाद कोइराला, त्यतिबेलाका योजना आयोगका उपाध्यक्ष रामशरण महत र अमेरिकाबाट बोलाएर अर्थमन्त्री बनाइएका महेश आचार्य नै हुन् । जस अपजस जे भए पनि नेपाली उद्योगधन्दाको विनाश यिनैको नेतृत्वमा भएको हो। नेपाली कांग्रेसका युवाहरूले विपीका योजनाहरूलाई भत्काउने मुख्य मान्छे उनका भाइ गिरिजाप्रसाद कोइराला नै हुन् भन्ने सत्यलाई नबुझेसम्म नेपाली कांग्रेस उँभो लाग्न सक्दैन ।
नेपाली कांग्रेसका वर्तमान नेताहरूले नै विपी कोइरालालाई चिनेका छैनन् । विपी कोइराला कहिल्यै भारतीय सत्ताका प्रिय रहेनन् । राष्ट्रिय मेलमिलाप भनेर परिचय दिइएको विपी कोइरालाको नेपाल आगमन भारतमा विपी कोइरालाको बसोबास कष्टकर होइन, जीवन मरणको खतरामा पुगेपछि उनले नेपाल फर्किने निर्णय गरेका हुन् । ००७ सालको प्रजातन्त्र नेपाली कांग्रेसको नेतृत्वमा होइन, नेपालका राजा त्रिभुवन, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र त्यतिबेला नेपालमा रहेका भारतीय राजदूतको पहलमा आएको हो । यो कुरा विपीका लेखनमा पाइन्छन् नै । वरिष्ठ पत्रकार हरिहर विरहीको ‘अझै आगो निभेको छैन’ भन्ने संस्मरणमा सांकेतिक रूपमा यो परिस्थितिको उल्लेख गरिएको छ । राजा महेन्द्रको सबैभन्दा चर्को विरोध गर्ने अहिलेका नेपाली कांग्रेसका नेतालाई, महेन्द्रका मुलुकी ऐन, भूमिसुधार जस्ता सुधारात्मक कामहरू विपी कोइरालाकै सोचका निरन्तरता हुन् भन्ने पनि थाहा हुनुपर्यो ।
नेपाली कांग्रेसबाट उखेलिर फ्याँकिएका विपी कोइराला नेपाली कांग्रेसमा पुनःस्थापित भएनन् भने नेपाली कांग्रेस दलाल पुँजीपति वर्गको प्रतिनिधि पार्टी हुनेछ । १८ करोडको लिमोजिन कार, कति अर्बको हेलिकोप्टर, प्रहरी प्रतिष्ठान सार्ने निर्णयमा नेकपाका नेतालाई जति डाम्न खोजे पनि आखिरमा त्यसले बुमर्याङ गर्यो । सबै निर्णय कांग्रेसले नै गरेको रहेछ । अहिले असाध्यै हुलहुज्जत गरिएको वाइडबडी हवाइजहाजको भ्रष्टाचारको अन्तिम टुंगो पनि उतैतिर टाँसिने संभावना देख्दै छु म त । ५० वर्ष हाराहारीका नेपाली कांग्रेसका नेताहरू अलिक होसियार भएर बोलून् ताकि भविष्यमा उनीहरूलाई लाज नहोस् । कांग्रेसका बारेमा यत्ति ।
मदन भण्डारी नेपाली कम्युनिस्ट पार्टीका शीर्षस्थ नेता हुन् । हत्याले उनको भौतिक शरीर समाप्त भयो तर नेकपा एमालेका इमान्दार नेता कार्यकर्ताहरूले मदन भण्डारीलाई मर्न दिएनन् । अध्ययन र अनुसन्धानले मदन भण्डारीलाई सिधै कार्ल मार्क्ससँग जोडिदियो । नेपालको कम्युनिस्ट आन्दोलनमा रहेको जड मान्यतालाई खारेज गरेर उनले जुन ‘जनताको बहुदलीय जनवाद’को विचार अघि सारे, त्यो नै वास्तवमा मार्क्सवाद थियो । यो सत्यलाई सबैभन्दा पहिले अमेरिकी अखबारले बुझ्यो । हामी लाटाका लागि हाईहाई भएको त्यो अन्तर्वार्ता विश्वव्यापी आतंकको पर्याय सिआइएका लागि सतर्कताको सन्देश थियो ।
किनभने ‘स्वतन्त्रता र समानता’को मार्क्सवादी मान्यतालाई जनताको बहुदलीय जनवादले टपक्कै टिपेको थियो । यसलाई मार्क्सवादका बारेमा उल्टो ज्ञान भएका हामीले नबुझे पनि आफ्नो साम्राज्यका लागि काम गर्ने न्यूजविकले नेपालसम्म आएर मदन भण्डारीको सामग्रिक अध्ययन गरेर ‘लौ यसले त यथार्थ मार्क्सवाद बुझेको रहेछ हैु भनेर आफ्नो अड्डालाई सतर्क गराएको कुरो हामीले कहिल्यै बुझ्न सकेनौँ ।
तर मदन भण्डारीका समकालीन साथीहरूले अमेरिकालाई तर्साउने ‘जनताको बहुदलीय जनवाद’लाई खोपाको देउता बनाइदिए । खोपामा राखेको देउताको पूजा गरेपछि हजार खत माफ हुन्छन् भन्ने सामन्ती चेत बोकेका नेताहरूले त्यसलाई फगत एउटा संसदीय कार्यक्रम बनाइदिए ।
मदन भण्डारीलाई ‘नवीन विचारक’ भनियो तर उनका नवीन विचारलाई अहिलेको नेपाल कम्युनिस्ट पार्टीले कुन हदसम्म आत्मसात गरेको छरु अहिले नेकपा मात्र होइन, नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त हो– जनताको बहुदलीय जनवाद । साथीहरूले जनताको बहुदलीय जनवाद ‘फेजआउट’ भयो भने पनि त्यसलाई कुन सिद्धान्तले विस्थापित गर्यो भनेर भन्न सकेका छैनन् । मालेमावादले गरेको हो कि एक्काइसौं शताव्दीको समाजवादले? सिद्धान्तविहीन पार्टी हुन्छ भन्ने हावादारी विचार बाबुरामजीबाट नेकपाका नेताहरूमा सरेको त पक्कै होइन होला ।
मदन भण्डारीलाई खोपाको देउता बनाउने अपराध नगरून् नेकपाका कार्यकर्ताहरूले । मदन भण्डारीको सिद्धान्त भनेको ‘नागरिक स्वतन्त्रता, राष्ट्रिय पुँजीवादको निर्माण र सशक्तीकरण, पुँजीवाद हुँदै समाजवादी मार्गमा संक्रमण’ हो ।
अर्थात् नेपालमा समाजवाद स्थापना नभइन्जेलसम्म जनताको बहुदलीय जनवाद नै नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त भइरहनेछ । नेपाली कांग्रेसका नेताले विपी कोइरालालाई महामानवको पगरी गुथाएर सधैँका लागि पाखा लगाएझैँ मदन भण्डारीलाई जननेताको पगरी गुथाएर पाखा लाउने कोसिस गर्नु भनेको नेपालको मार्क्सवादी आन्दोलनलाई बीच बाटोमा मारेर फाल्नु जस्तै हो ।
अहिले हामी ऊनीको बलियो टोपी ओढेको सामन्तवादको आँगनमा भर्खर जन्मिएको काँचो आँपको बेस्वादिलो पुँजीवादको सारथि भइरहेका छौँ । त्यसैले नेपाली कम्युनिस्ट राजनीतिले पहिले त्यो ऊनीको टोपी झिकेर फाल्नुपर्छ। काँचो आँपलाई आँगनभित्रै पकाउनुपर्छ । त्यतिबेला मात्र नेपालको पुँजीवाद बलियो, परिपक्व हुन्छ र त्यसले आफूभित्र हुर्काएको समाजवादलाई जन्म दिनसक्छ ।
लेखेजति यो काम गर्न सजिलो छैन । सबै जना संघीयत प्रति इमान्दार रहे भने विपी कोइरालाले बोलेका समाजवाद र मदन भण्डारीले परिकल्पना गरेको ‘स्वतन्त्रता र समानताको साम्यवादी सिँढीु टेक्न पुगिने संभावना रहन्छ । होइन भने हाम्रो नेपाल सधैँभरि उही सिण्डिकेट, उही हिन्दु राष्ट्र, उही राजासहितको नक्कली प्रजातन्त्र, उही मगन्ते राष्ट्रको चक्रव्यूहमा रुमल्लिइरहनेछ भनेर सुनिश्चित गरिदिए हुन्छ ।
कांग्रेस र कम्युनिस्ट दुवै पार्टीका युवा नेताहरूलाई मेरो अनुरोध हो यो । कि त तपाईंहरू सहज ढंगले दलाल पुँजीवाद र राष्ट्रिय पुँजीवादको पक्षमा उभिएर आफ्नो पार्टीको परिचय दिनुहोस् अनि जनताको हितमा काम गर्ने प्रतिस्पर्धामा लाग्नुहोस् । अहिलेको अवस्थामा नेपाली कांग्रेस दलाल पुँजीवादको प्रतिनिधि भएको छ भने नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय पुँजीवादको प्रतिनिधि भएको छ।
साभार thahakhabar.com बाट
प्रकाशित मितिः २०७५ माघ ८ मंगलबार