फ्लुग्रस्त कञ्चनरुपलाई विपद् क्षेत्र घोषणा
राजविराज । केही बिरामीहरुको परीक्षण गरेपछि उनीहरूमा स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टिसँगै कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिए छ । प्रकोप नियन्त्रण नहुन्जेलसम्मका लागि सप्तरीको कञ्चनरुप नगरपालिका क्षेत्रलाई विपद् क्षेत्र घोषणा गरिएको हो ।
जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीको आकस्मिक बैठकले स्वास्थ्य सेवा विभागको इपिडीमियोलोजी तथा महामारी रोग नियन्त्रण शाखाको टोलीले बिरामीको परिक्षण पश्चात स्वाइन फ्लु र हङकङ फ्लु भएको पुष्टि गरेपछि कञ्चनरुप नगरपालिकालाई विपद् क्षेत्र घोषणा गरिएको नगरपालिकाले जनाएको छ । सो क्षेत्रमा केही दिनदेखि रुघाखोकी र ज्वरोका बिरामीमा ‘एचवानएनवान’ स्वाइन फ्लु र ‘एचथ्रिएनटु’ हङकङ फ्लु को भाइरस फेला परेको छ ।
उक्त रोगका कारण कञ्चनरुप नगरपालिका र हनुमाननगर कंकालिनी नगरपालिकाका पाँचको मृत्यु भएको नपाले जनाएको छ । सो रोगबाट कञ्चनरुप नगरपालिका–४ की ६० वर्षीया भालसरदेवी सरदारको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा र महदेवा गाउँपालिका–१ का ८ वर्षीय बालक महफुल आलमको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यस्तै कञ्चनरुप नगरपालिका–७ का १४ वर्षीय दिवश बस्नेत, ३ का १४ वर्षीय किशोर राम र ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु भएको थियो ।
भदौ २४ देखि तीन दिनसम्म सञ्चालन गरिएको हेल्थ क्याम्पमा जम्मा एक हजार ९२ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमध्ये २४ को रगत, ¥याल परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
रगत परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण फेला परेको उक्त प्रयोगशालाको रिर्पोटमा उल्लेख छ । कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका छ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा एक जनामा स्वाइन फ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जनप्रसाद यादवले जानकारी दिए । साथै आठ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको उनले बताए ।
एकपछि अर्को गर्दै लगातार बिरामीको सङ्ख्या थपिँदै गएपछि स्थानीय त्रसित भएको सोही कञ्चनरुप नगरपालिकाका रोहित देवले बताए । यता जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका सरोकारवालाले भने पाँचै जनाको मृत्युको कारण स्वाइन फ्लु नै भएको अहिले भन्न सक्ने अवस्था नरहेको जनाएका छन् ।
प्रकाशित मितिः २०७५ भदौ ३० शनिबार