जीवनशैली परिवर्तनसँगै मृगौला फेल हुने समस्या बढ्दो
भक्तपुर । नेपालका ३० लाख व्यक्तिमा ठूलो वा सानो मृगौला रोग लागेको स्वास्थ्य संस्थाहरूले आँकलन गरेका छन् । यसलेपनि नेपालमा मृगौला फेल हुने समस्या तिब्र रुपमा बढेको पाईएको छ । सरकारको मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार ३० लाखमध्ये वर्षेनि ३ हजार जनाको मृगौला फेल हुने गरेको पाईन्छ । यसरी मृगौला फेल हुनेमध्ये दुई हजार सात सय नेपालीले उपचारका लागि उपयुक्त अस्पताल र स्वास्थ्य संस्थामै नपुगी ज्यान गुमाउन बाध्य हुने गरेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताएका छन । मृगौलाको अवस्था जान्न रगतको जाच गरी रगतमा ब्यर्थ उत्पादन (क्रियाटिनिन) को बढदो स्तरको पहिचान गर्न सकिने उनले बताए ।
डा. ऋषिकुमार काफले यो अति सामान्य र अत्यन्त कम खर्चिलो परीक्षण भएको बताए पनि शिक्षा,चेतना र जानकारीको अभावले मानिसहरू अस्पतालसम्म पुग्न नसकेको पाईएको छ । पिसाबबाट प्रोटिन निस्कन थाल्नु मृगौला बिग्रन लागेको पूर्वलक्षण हुने उनले बताए । मृगौला ९० प्रतिशतभन्दा बढी बिग्रेको वा यो अंगले काम गर्न बन्द गरेको अवस्थालाई पूर्ण रुपमा मृगौला फेल भएको मानिने केन्द्रका डाक्टर काफलेले जानकारी दिएका छन् । यस्तो अवस्थामा रोगीलाई नियमित डायलासिस वा मृगौला प्रत्यारोपण गर्न बाहेक अरु कुनै विकल्प नहुने उनले बताए । मृगौलाको कार्यक्षमता ३५ देखि ५० प्रतिशतसम्म कम हुँदासम्म रोगको लक्षण नदेखिनुले पनि मानिसहरू समस्यामा पर्ने गरेको बताईएको छ ।
जीवनशैलीमा परिवर्तनसँगै मधुमेह, उच्च रक्तचाप, पत्थरी आदि समस्याले नेपालमा दीर्घकालीन रुपमा मृगौला फेल हुने समस्या बढ्दो देखिएको मानव अंग प्रत्यारोण केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले बताएका छन् । अहिलेसम्म यो रोगलाई समाप्त गर्ने कुनै औषधि उपलब्ध नभएको चिकित्सकहरूको भनाई छ । तर समयमै सतर्कता अपनाए यस्ता रोगीलाई डायलासिस वा मृगौला प्रत्यारोपणसम्मको अवस्थाबाट बचाउँन सकिने उनले बताए । मृगौला खराब हुने प्रक्रिया धेरै सुस्त गतिमा अगाडि बढेने हुँदा लामो समयपछि रोगीका दुवै मृगौला खराब हुँदै तिनले काम गर्न बन्द गर्ने भन्दै श्रेष्ठले यस्तो अवस्थालाई कुनै औषधि, डायलासिस वा शल्यक्रियाले निको पार्न नसकिने जानकारी दिए ।
मृगौला फेलको प्रारम्भिक अवस्थामै रोग पहिचान गरी औषधि र आहार विहारमा नियन्त्रण गरेर प्रत्यारोपण अथवा डायलासिस भएकाले सुरुमा आर्थिक अवस्था कमजोर भएका रोगीलाई अप्ठारो पर्ने गरेको बुझिएको छ । यस्तो स्थितिमा चिकित्सकले मृगौलाको बाँकी रहेको कार्यक्षमता कायम राख्दै मृगौलालाई बढी बिग्रिनबाट जोगाउने काम गर्दै आईरहेका छन् । प्रत्येक मिनेट मृगौलामा एक लिटरदेखि १२ सय मिलिलिटर सम्म रगत पुग्ने हुदाँ मृगौलाको आकारको अनुपातमा यो मात्रा निकै बढी हुने गरेको चिकित्सकहरूले बताएका छन् ।
यस्ता विरामीका लागि भारतको तुलनामा नेपालमा खर्च कम लाग्ने बताउँदै उनले ४ देखि ५ लाखमा नेपालमै उपचार हुने जानकारी दिए । उपचार सफल भएपछि विरामीलाई सरकारले २ लाख रुपैयाँ समेत उपचार खर्च वाफत सहयोग गर्दै आएको मानव अंग प्रत्यारोपण केन्द्रले जनाएको छ ।
प्रकाशित मितिः २०७५ भदौ ५ मंगलबार