सरकार र डा. केसी पक्षबीच वार्ता सफलः आजै अनसन तोडिँदै

भक्तपुर न्यूज

१० साउन २०७५ ११:३७

सरकार र डा. केसी पक्षबीच वार्ता सफलः आजै अनसन तोडिँदै

काठमाडौं, १० साउन । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेट्दैछन् । बिहीबारको वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराउने र उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना रहेको वार्ता टोली सदस्य सुरेन्द्र भण्डारीले बताए ।

सरकारको तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी वार्तामा सहभागी थिए । त्यस्तै अनसनरत डा. केसीका पक्षबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिषेकराज सिंह, डा. जीवन क्षेत्री, डा. सुमित पाण्डे सहभागी थिए ।

डा. केसी विगत २७ दिनदेखि अनसनरत छन् । अनसनरत डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय बनेका थिए ।

सहमतिको बुँदा भने सार्वजनिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *