केसीको उपचारका लागि चिकित्सकको टोली जुम्ला
काठमाडौं २१ असारा । डाक्टर गोबिन्द केसीको उपचारको बिषयले सडक सदन र जताततै चर्चा पाउन थालेपछि उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनशनरत केसीको उपचारका लागि डाक्टरको टोली पठाएका छन् । उनले केसीको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्।
केसीको उपचारका लागि स्वास्थ्य मन्त्री यादवको निर्देशनमा काठमाडौंबाट डा जीवन थापा र डा सुभाष सुवेदीको टोली आजै बिहान जुम्लातर्फ लागेको छ । डा थापा र सुवेदीद्वयको टोलीले नेपालगन्जस्थित भेरी अंचल अस्पतालबाट थप चिकित्सकको टेली लिएर आजै जुम्ला पुग्ने स्वास्थ्य मन्त्री यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए।
चिकित्सा क्षेत्र सुधारको माग राख्दै अनशनरत केसीको समर्थनमा आन्दोलनमा उत्रिएका कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तत्काल काममा फर्किन र विरामीहरुको सेवामा खटिन पनि स्वास्थ्य मन्त्री यादवले निर्देशन दिएका छन्। स्वास्थ्यमन्त्री यादवले चिकित्सा क्षेत्र सुधारको विषय स्वास्थ्य मन्त्रालयसँग मात्र नजोडिएको भन्दै शिक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग निरन्तर छलफल भईरहेको र चाँडै नै सरकारले उपयुक्त निर्णय लिने पनि चौरसियाले बताए।