वीर अस्पतालको अर्बौ मूल्यको जग्गा वेपत्ता

भक्तपुर न्यूज

३० चैत २०७४ ३:३०

वीर अस्पतालको अर्बौ मूल्यको जग्गा वेपत्ता

भक्तपुर, ३० चैत । स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ । विस्तारित सेवा दिने योजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतिक पूर्वाधार निर्माण सर्भेका क्रममा नापजाँच गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो ।

१५ सय शैयाको अस्पतालसहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महŒवाकांक्षी लक्ष्यसाथ निर्माण सुरु हुने भनिएको सो क्षेत्रमा प्रतिष्ठानले भोगचलनका लागि नापी गर्ने क्रममा लालपुर्जामा भएभन्दा फिल्डमा ५० रोपनी कम देखिएपछि सो जग्गा कसले भोगचलन गरिरहेको छ भन्ने बहस सुरु भएको छ ।

अर्बौं रुपैयाँ मूल्य पर्ने सो जग्गामा चीन सरकारले भौतिक पूर्वाधार निर्माणमा चासो देखाएपछि प्रतिष्ठानले जग्गा नापजाँच गरेको हो । नापजाँचका क्रममा ५० रोपनी जग्गा नै नभेटिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङले जानकारी दिए ।

उनका अनुसार नापी गर्दा ५० रोपनी जग्गा नक्साअनुसार अपुग भएको हो । यसको खोजीका लागि पुरानो ट्रेस खोजेर नापी कार्यालय भक्तपुरलाई पुनः नापी गर्न आग्रह गरिएको उनले बताए ।

१५ सय शैयाको सुविधा सम्पन्न अस्पतालका साथै रिसर्च सेन्टर र विभिन्न भवन निर्माण हुने उक्त स्थानमा ५० रोपनी जग्गा नै गायब भएको बताउँदै उनले खोजीका लागि अहोरात्र लागि परेको बताए ।

अस्पतालको नाममा आएको जग्गामध्ये १७४ रोपनी हाल नेपाल इन्जिनियरिङ कलेजले भोगचलन गरिरहेको छ । सो जग्गामा परोपकार संस्थाले समेत भवन नै बनाएर भोगचलन गरिरहेका छन् ।

इन्जिनियरिङ कलेज र परोपकारले भोगचलन गरेको जग्गामा विवाद र केही स्थानीयले समेत सो जग्गामध्येको केही दाबी गरेका कारण समस्यामा परेको गुरुङ बताउँछन् ।

उपकुलपति गुरुङका अनुसार सो जग्गामा अनधिकृत बालुवा खानी सञ्चालन हुनदेखि लिएर प्रहरी बिटसमेत सञ्चालन भइरहेकाले परियोजनाका काम अघि बढाउन समस्या परेको छ ।

प्रतिष्ठान आगामी ६ वर्षभित्रमा उक्त स्थानमा निर्माणका सबै काम सक्ने गरी डीपीआर निर्माणमा जुटिरहेको छ । उपकुलपति गुरुङका अनुसार अस्पताल निर्माणका लागि चिनियाँ दूतावास इच्छुक रहेका कारण नक्सांकनलगायतको काम गरिरहेको बताए ।

अस्पताल दुवाकोटमा आउने विश्वास दिलाउन छिट्टै वद्धाश्रम र परोपकार भवनमा दैनिक ओपीडी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिए । अस्पताल निर्माणका लागि प्राप्त जग्गामध्ये हाल ५२० रोपनी जग्गालाई काँडे तारबार र होडिङ बोर्ड राखी सुरक्षित गरिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *