स्थानीय पाठ्यक्रममा इतिहास, भूगोल र कलासंस्कृति
भक्तपुर, १६ फागुन । भक्तपुर नगरपालिकाले नयाँ पुस्तालाई भक्तपुरको इतिहास, भूगोल र कला, संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम तयार गर्न लागेको हो । भक्तपुर नगरपालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम तयारी गर्न भक्तपुर नगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयका अभिभावकहरूको कार्यशालाका प्रमुख अतिथि नगर प्रमुख प्रजापतिले बताए ।
उनले भक्तपुरको मौलिकता बचाउन भक्तपुरवासी नै अग्रसर हुनुपर्ने बताउँदै भने ‘नेपालभाषा, यहाँका कला, संस्कृति, सम्पदाहरू, भेषभूषा आदि हाम्रो पहिचान हुन् । यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । हामीले आफ्नो पहिचान गुमाउनुहुँदैन ।
भक्तपुर नगरपालिकाले स्थानीय सरकार सञ्चालन क्षेत्र २०७४ अनुसार आधारभूत र मावि तहका जिम्मेवारी लिएर कक्षा ८ को परीक्षा सञ्चालनको तयारीको साथै अन्य कार्यहरू पनि अगाडि बढाएको जानकारी उनले दिए । पाठ्यक्रम तयारी कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेंले बोल्नुभन्दा काम महत्वपूर्ण भएको बताउँदै विषय विभाजन गरी समूहगत रुपमा प्राप्त सुझावलाई ध्यानमा राखेर कार्य दल अगाडि बढ्ने बताए ।