चुनावको तयारी पूरा, चुनावलगत्तै प्रदेश राजधानी तोकिने

भक्तपुर न्यूज

२० मंसिर २०७४ २:१७

चुनावको तयारी पूरा, चुनावलगत्तै प्रदेश राजधानी तोकिने

काठमाडौं, २० मंसिर । बिहीबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको छ । निर्वाचन लगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन लागेको छ । सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम राजधानी र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी सोमबार मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

प्रदेश राजधानीका लागि सामान्य प्रशासन मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकाम प्रस्ताव गरी मन्त्रिपरिषद कार्यालयमा पठाइसकेको छ । प्रदेश नम्बर १ को राजधानी सुनसरी, २ को जनकपुर, ३ को काठमाडौं उपत्यका, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को राजधानी कैलाली प्रस्ताव गरिएको छ ।

चन्दाको भरमा चुनाव

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार व्यक्तिगत चन्दाकै भरमा निर्वाचन लडिरहेको समाचार छ । ती दलले आफ्ना उम्मेदवारलाई सीमित रकम उपलब्ध गराएकाले चन्दा संकलन गर्नुपरेको हो ।

कांग्रेस, एमाले र माओवादी केन्द्रले चुनावलाई लक्ष्य गरेर सञ्चालनमा ल्याएको संस्थागत खातामा पनि न्यून मात्रामा मात्रै सहयोग संकलन भएको छ । तीन ठूला दलले दिएको जानकारीअनुसार कांग्रेसको खातामा एक करोड, एमालेको खातामा दुई करोड र माओवादी केन्द्रको खातामा तीन करोड रुपैयाँ संकलन भएको छ ।

संस्थागत संकलन भएको सहयोग रकम अति नै न्यून भएपछि पार्टीहरूले उम्मेदवारले आयोगले तोकेको सीमा बराबरको रकम उपलब्ध गराउन सकेका छैनन् ।

आयोगले प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवारले २५ लाख र प्रदेशसभा प्रत्यक्ष तर्फका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सीमा तोकेको छ । तर, तीन ठूला दलले पार्टीका उम्मेदवारलाई संस्थागत रूपमा एक लाखदेखि ६ लाख रुपैयाँ मात्रै खर्च दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *