उत्तर कोरियासँग युद्ध हुने दिन नजिक रहेको ट्रप्पका सल्लाहकारको खुलासा
एजेन्सी १८ मंसिर ।ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर मकमास्टरले अमेरिका र उसका मित्र शक्तिहरु उत्तर कोरियाले आफ्नो परमाणु लक्ष्य हासिल गर्नु अघि नै समस्याको समाधान गर्न हतारिएको बताएका छन् । उनी क्यालिफोर्नियामा एक प्रतिरक्षा मामिलासम्बन्धी मञ्चमा बोल्दै थिए । त्यसक्रममा उनले उत्तर कोरियासँग युद्धको सम्भावना हरेक दिन बढिरहेको बताए । तर उनले हतियारको प्रयोग विना पनि उत्तर कोरियाले सिर्जना गरेको चुनौतीको समाधान गर्न सकिनेमा जोड दिए ।
मकमास्टरले भने, तर यो एक दौड जस्तै भएको छ र त्यो नजिक भन्दा नजिक आइरहेको छ। अब हामीसँग धेरै समय छैन । उनले चीनको भूमिका महत्वपूर्ण रहेको बताउँदै उसले उत्तर कोरियालाई तेल आपूर्ति पूरै बन्द गरिदिएमा उसको क्षेप्यास्त्र कार्यक्रमलाई कठिन बनाइदिन सकिने बताए ।
उनले भने, हामी चीनलाई चीनकै चासोमा कदम चाल्न भनिरहेका छौं। अब यसबारेमा चीनले अझै धेरै गर्नुपर्छ किनकि यो चीनकै उच्च चासोको विषय हो । तेल भएन भने क्षेप्यास्त्र परीक्षण गर्न सकिंदैन । उत्तर कोरियाले दुई महिनापछिको पहिलो बलिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको तीन दिनपछि मकमास्टरको पछिल्लो प्रतिक्रिया आएको हो । जापानको जल क्षेत्रमा खसेको त्यो क्षेप्यास्त्र पछिल्ला क्षेप्यास्त्र भन्दा निकै माथि उडेको थियो ।
गत सेप्टेम्बरमा प्योङयाङले आफ्नो पहिलो परमाणु परीक्षण गरेको थियो । आउने सोमबारदेखि दक्षिण कोरिया र अमेरिकाले हवाई सैन्य अभ्यास थाल्ने तयारी गरिरहेका छन् । त्यसप्रति उत्तर कोरियाले कडा प्रतिक्रिया दिएको छ। यो उत्तर कोरियाको लागि खुल्ला चुनौती हो । त्यसले कुनै पनि समय परमाणु युद्ध निम्त्याउन सक्छ, सत्तारुढ दलको रोदोङ पत्रिकाको संपादकीयमा लेखिएको छ ।