आज अन्तिम दिन, राति १२ बजेबाट मौन अवधि सुरु हुँदै
काठमाडौ, १८ मंसिर । दलहरूले प्रचारप्रचार गर्ने आज अन्तिम दिन हो । राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । यस अवधिमा उम्मेदवार र दलहरूले कुनै पनि माध्यमबाट प्रचारप्रसार गर्न पाउँदैनन् । एसएमएस, भाइबर वा अन्य कुनै माध्यमबाट पनि मत माग्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
सबै तयारी पूरा
आयोगले २१ मंसिरमा हुने दोस्रो चरणको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको लगभग सबै तयारी पूरा गरेको छ । मतदानस्थलमा मतदान अधिकृत पठाउने, सुरक्षाको प्रबन्ध गर्नेलगायत काम अन्तिम चरणमा रहेको आयोगले जनाएको छ । सोमबार मतदान अधिकृत मतदानस्थल पुगेर नयाँ मतदातालाई परिचयपत्र वितरण र मतदान केन्द्रको व्यवस्थापन सुरु गर्नेछन् ।
सुरक्षा प्रबन्ध मिलाऊँ
प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवले सरकारले निर्वाचनमा शान्तिसुरक्षाको प्रत्याभूति दिलाएको बताए । ‘सुरक्षाको प्रबन्ध, व्यवस्थापन र रणनीति बनाउन सरकारलाई निर्देशन दिएका छौँ,’ उनले भने । आचारसंहिता उल्लंघनका घटना अनुगमन गर्न आयोगले १ सय १३ सहसचिव र ८८ उपसचिवलाई परिचालन गरेको छ ।
मतदाता शिक्षामा १९ हजार कार्यकर्ता परिचालन
आयोगका अनुसार हजार मतदाताबराबर एकजना मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । मतदाता शिक्षाका लागि करिब १९ हजार स्वयंसेवी कार्यकर्ता परिचालन गरिएको छ । आयोगले निर्वाचन पर्यवेक्षणका लागि कार्टर सेन्टर, जाइका, इयूलगायत निकायका करिब चार सय पर्यवेक्षकलाई स्वीकृत दिएको छ । राष्ट्रिय पर्यवेक्षकमा भने ५२ वटा संस्थाका ४५ हजारलाई अनुमति दिएको छ ।
कांग्रेसका शीर्ष नेता आफ्नै निर्वाचन क्षेत्रमा
प्रचारप्रसारको अन्तिम दिन सभापति शेरबहादुर देउवादेखि उम्मेदवार बनेका अधिकांश नेता आफ्नै क्षेत्रमा व्यस्त हुँदै छन् । कांग्रेसले सोमबार डडेल्धुराको अमरगढी, तनहुँको दमौली, रुपन्देहीको बुटवल र भैरहवा, सुनसरी, पर्सा, भक्तपुर, ललितपुरको गोदावरीलगायत ठाउँमा ठूला सभा राखेको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बताए ।
देउवा गृहजिल्लामा व्यस्त
प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा प्रचारको अन्तिम दिन आफ्नै चुनावी क्षेत्र डडेल्धुरामा व्यस्त हुनेछन् । आइतबार कञ्चनपुरका बेलौरी र महेन्द्रनगरमा चुनावी सभालाई सम्बोधन गरेका उनले सोमबार डडेल्धुराको अमरगढीमा हुने सभालाई सम्बोधन गर्दै छन् । त्यसपछि नेता–कार्यकर्तासँगको भेटमै उनको समय बित्नेछ । प्रचारप्रसार गर्न नपाइने १९ र २० मंसिरमा पनि देउवा डडेल्धुरामै रहनेछन् । २१ मंसिरमा भोट हालेपछि उनी काठमाडौं फर्किनेछन् ।
पौडेल पनि आफ्नै क्षेत्रमा
तनहुँ २ बाट उम्मेदवार बनेका नेता रामचन्द्र पौडेल प्रचारको अन्तिम दिन दमौलीमा हुने चुनावी सभामा सहभागी हुँदै छन् । सो सभाका लागि महामन्त्री डा। शशांक कोइराला, डा। रामशरण महतसहितका नेता पुग्ने पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताए । सभापछि पौडेलले दमौलीका केही स्थानमा हुने कोणसभालाई सम्बोधन गर्ने र नेता–कार्यकर्तासँग भेटघाटको समय राखेको छन् ।
महामन्त्री नवलपरासी र तनहुँमा व्यस्त
महामन्त्री डा। शशांक कोइराला तनहुँको दमौलीमा हुने चुनावी सभा र आफ्नै निर्वाचन क्षेत्र पूर्वी नवलपरासीको नवलपुरमै व्यस्त हुनेछन् ।
घरदैलो सकेर देशभर चुनावी सभामा एमाले
दोस्रो चरणको चुनावी प्रचारको अन्तिम चरणमा एमाले घरदैलो अभियान सकेर चुनावी सभामा केन्द्रित भएको छ । २१ मंसिरमा हुने १ सय २८ निर्वाचन क्षेत्रमध्ये धेरै क्षेत्रमा क्षेत्रीयस्तरको बृहत् सभा र कतिपय क्षेत्रमा कोणसभा गर्ने एमालेको तयारी छ ।
प्रवक्ता विष्णु रिमालका अनुसार चुनावी प्रचारको अन्तिम दिन उत्कर्षका रूपमा थुप्रै स्थानमा चुनावी सभा हुनेछन् । ‘कतिपय स्थानमा चुनावी सभा हुन्छन्, कतिपय स्थानमा अन्तिम घरदैलोलगायत चुनावी प्रचारका कार्यक्रम सम्पन्न हुनेछ,’ उनले भने ।
नेताहरू चुनावी सभामै केन्द्रित
चुनावी प्रचार उत्कर्षमा पुग्दै गर्दा अध्यक्ष केपी ओलीसहितका शीर्ष नेताहरू सभा केन्द्रित भएका छन् । आइतबार प्रचण्डको चुनावी क्षेत्र चितवन ३ को माडीमा आयोजित चुनावी सभामा सहभागी भएर काठमाडौं फर्किएका ओलीले सोमबार काठमाडौं ४ को कपनमा आयोजित सभालाई सम्बोधन गर्दै छन् । ओलीले आइतबार नै मोरङ ३ को विराटचोकमा सम्बोधन गरेका थिए ।
त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरमा आयोजित काठमाडौं २ को क्षेत्रीय सभालाई सम्बोधन गर्नेछन् । त्यस्तै, महासचिव ईश्वर पोखरेलले आफ्नै चुनावी क्षेत्र काठमाडौं ५ को बसुन्धरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । एमालेका सबै उम्मेदवार चुनावी प्रचारको अन्तिम दिन आफ्नै निर्वाचन क्षेत्रमा अन्तिम चुनावी प्रचारमा हुनेछन् ।