सिटिइभिटीको निर्णयप्रति चक्रवर्ती कलेजको आपत्ति
भक्तपुर, २५ असोज । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले मध्यपुरथिमिस्थित चक्रवर्ती हवी नर्सिङ कलेजको सम्बन्धन खारेज गरेको छ ।
सिटिइभिटीको बोर्ड बैठकले कलेजको सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो । कलेजले भने अदालतको मानहानि भएको भन्दै आपत्ति जनाएको छ । गत भदौ ३० गते उच्च अदालत पाटनका न्यायाधीश भोलानाथ चौलागाईंको एकल इजलासले कलेज नवीकरण गर्न र विद्यार्थीको पढाइलाई अवरोध नगर्न सिटिइभिटीका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको आदेश विपरीत कलेजलाई कुनै जानकारी नै नदिई प्रमाणपत्र तह नर्सिङ विषयमा भर्ना भएका ३७ विद्यार्थीको भविष्य अन्योलमा पारेर कलेज खारेज गर्ने सिटिइभिटीको निर्णयप्रति कलेजको आपत्ति रहेको कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहले बताए ।
कलेजले गत भदौ २५ गते प्रमाणपत्र तह नर्सिङ विषयमा ३७ विद्यार्थी भर्ना लिएको थियो । कलेजले विज्ञप्ति जारी गर्दै भर्ना भएर पठनपाठन शुरु भइसकेका अवस्थामा विद्यार्थीको भविष्य अन्योल बनाइएको भन्दै कलेज खारेज गर्ने निर्णय सच्याउन माग गरेको छ ।