भक्तपुरमा ५ लाख सहित ३ कर्मचारी अख्तियारको फन्दामा
भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख नगदसहित भक्तपुरको सल्लाघारीबाट नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुका ३ जना कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ ।
ट्याक्सीमा जडान गर्ने मिटरको चेकजाँचका क्रममा सेवाग्राहीबाट घुस लिदैं गरेको अबस्थामा उनीहरुलाई अख्तियारले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसनधान आयोगले जानकारी दिएको छ ।
यसरी रंगेहात पक्राउ पर्नेमा विभागका निरीक्षक शाखा अधिकृत विकास ध्वजु, सहायक निरीक्षक नायक सुब्बा दुर्गाप्रसाद रेग्मी र अर्का नासु ठाकुरराम खड्का रहेका छन् ।
उनीहरुबाट अख्तियारले नगद ५ लाख रुपैयाँ बरामद गरेको छ । सेवाग्राहीसँग ४ सय ट्यासीको प्रति ट्याक्सी १ हजार ५ सयका दरले रकम बार्गेनिङ गरेको पनि खुलेको छ ।
बार्गेनिङका क्रममा उनीहरु र ट्याक्सी मिटर बिक्रेताबीच ५ लाखमा कुरा मिलेको खुल्नआएको अख्तियारको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रंगेहात पक्राउ परेका तीनैजना अहिले अख्तियारको निगरानीमा रहेका छन् ।