नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज
काठमाडौं, २२ भदौ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले विवादीत अबस्थामा रहेको काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेज गरिएको छ । त्रिभुवन विश्वविद्यालयद्धारा गठित ३ सदस्यीय छानबिन समितिले कलेज मापदण्ड विपरित सञ्चालन भैरहेको प्रतिवेदन त्रिवि कार्यकारी परिषदमा बुझाएपछि परिषद्ले काठमाडौं मेडिकल कलेजको सम्बन्धन अनुमति खारेज गरेको हो । यसअघि बुधबार नै समितिले कलेजको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कलेज संचालनका लागि स्वास्थ्य मन्त्रालयबाट अनुमति समेत नलिएको पाइएको छ ।
घट्टेकुलोस्थित काठमाडौं नेशनल मेडिकल कलेजको शिक्षण अस्पताल अनुगमन गर्न पुगेका छानबीन समितिका पदाधिकारीले सो क्रममा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कुनै पनि प्रक्रिया पूरा नभएको तथ्य फेला परेको थियो । त्रिवि सभा तथा कार्यकारी परिषदले अस्पताल बैध रहेको वा नरहेको छानवीन गर्न यसअघि ३ सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिले गएको शनिबारबाटै छानवीन प्रक्रिया शुरु गरेको समितिका सदस्य परशुराम कोइरालाले जानकारी दिए ।
छानबीनका क्रममा स्वास्थ्य मन्त्रालयको समेत अनुमति नलिएको पाइएको उनले बताए । अस्पतालले अध्ययन, अध्यापनका लागि पनि त्रिभुवन विश्वविद्यालयबाट अनुमति नलिएको भेटिएको उनले बताए । अस्पतालमा स्वास्थ्य सेवा संचालन गर्न कुनै पनि अस्पतालले स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था रहेको उनको भनाई छ । त्यसैगरी अस्पतालमा अध्ययन, अध्यापनको काम गर्न त्रिभुवन विश्वविद्यालयले तोकिदिएको प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान भएपनि नेशनल कलेजले दुवै प्रक्रिया पूरा नगरेको पाइएको समितिले बताएको छ ।