राजधानीमा ३५ हजारलाई कुकुरले टोक्यो
काठमाडौ । काठमाडौँ महानगरपालिकाले सडकका कुकुर नियन्त्रणका लागि वार्षिक बजेट विनियोन गर्ने गरे पनि उक्त कार्यक्रम प्रभाकारी हुन सकेको छैन । यसले गर्दा उपत्यकामा कुकुरले पैदल यात्रुलाई टोक्ने गरेको संख्या बढेको छ । गएको १५ महिनामा काठमाडौँ उपत्यकामा ३५ हजार ५ सय ६२ लाई कुकुरले टोकेको छ । २०७३ वैशाखदेखि २०७४ साउनसम्म साढे ३५ हजार जनाले उपचार गराएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
अस्पतालमा दैनिक १ सयसम्मको हाराहारीमा कुकुरले टोकेका बिरामी आउने गरेको अस्पतालका डाक्टर शेरबहादुर पुनले जानकारी दिए । अस्पतालको आँकडाअनुसार २०७३ वैशाखमा २ हजार ७३, जेठमा २ हजार १ सय ६५, असारमा २ हजार १९, साउनमा १ हजार ९ सय ७१, भदौमा १ हजार ६ सय ६२, असोजमा १ हजार ६ सय ५८, कात्तिकमा १ हजार ७ सय ४५, मङ्सिरमा २ हजार १ सय १, पुसमा २ हजार ४ सय ६३, माघमा २ हजार २ सय ६, फागुनमा २ हजार ६ सय २४ र चैतमा ३ हजार १ सय २० जनाले कुकुरको टोकाइको उपचार गराएका छन् ।
यस्तै यस वर्षको वैशाखमा २ हजार ९ सय ७१, जेठमा ३ हजार ५ सय ६३, असारमा ३ हजार २ सय २१ जनाले उपचार गराएको अस्पतालका मेडिकल रेकर्ड निरीक्षक शम्भु खड्काले जानकारी दिए । उपत्यकामा छाडा कुकुरको सङ्ख्या धेरै भएका कारण कुकुरले टोकेका बिरामी बढेको अस्पतालको भनाइ छ । अस्पतालका डाक्टर शेरबहादुर पुनले टेकु अस्पतालमा आउने कुकुरले टोकेका बिरामीले सिङ्गो उपत्यकाको आँकडा देखाउने बताए ।