प्रधानमन्त्रीको भारत भ्रमण : बाँधको समस्या समाधान होला ?

भक्तपुर न्यूज

६ भदौ २०७४ ६:३७

प्रधानमन्त्रीको भारत भ्रमण : बाँधको समस्या समाधान होला ?

कमल न्यौपाने । काठमाडौं, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा ७ भदौमा भारत भ्रमणमा जाँदै छन् । यतिबेला देउवाको भारत भ्रमण एजेन्डाविहीन हुने भन्ने चौतर्फी टिप्पणी आइरहेको सन्दर्भमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमणको एजेन्डा तय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको भ्रमण राजकीय हुने र भ्रमणका बेला उठाउनुपर्ने विषयमाथि छलफलसमेत गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । प्रधानमन्त्री देउवाले ७ देखि ११ भदौसम्म गर्ने भारत भ्रमणलाई यतिबेला विशेष महत्वका साथ हेरिएको छ । केही समयअघि नेपालमा बाढीपहिरोका कारण अर्बौंको क्षति र थुप्रैको ज्यान गएको छ । भारतले नेपालका विभिन्न खोलामा बाँधेको बाँध नै नेपाली भूमि डुबानको प्रमुख कारकको रूपमा लिइएको छ ।

पुराना सन्धि सम्झौतालाई पुनरावलोकन गर्ने, लक्ष्मणपुर बाँध, कोसी बाँधलगायत अन्य बाँधबाट पुगेको क्षति नोक्सानीका बारेमा प्रधानमन्त्री देउवाले भारत सरकारसँग छलफल गर्ने एजेन्डा तय भएको जानकारी सञ्चारमन्त्री बस्नेतले दिए । तर, गण्डक, महाकालीलगायत बाँध र दर्जनबढी तटबन्धका बारेमा भने कुनै एजेन्डा बन्न सकेको छैन । कोसी बाँध बनाउने समयमा भारत सरकारले दिने भनिएको ५० करोड भारतीय रुपैयाँ अहिलेसम्म नेपालले पाएको छैन । यस विषयमा प्रधानमन्त्रीले भ्रमणका बेला कुरा उठाइने भनिए पनि अन्य बाँध र तटबन्धका बारे खासै ध्यान दिएको छैन ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको बारेमा छलफल हुनुका साथै सन् १९५० को सन्धिका असर र प्रभाव तथा द्विपक्षीय सुपुर्दगी सन्धि, नेपाल भारत अन्तरदेशीय रेल सेवा सञ्चालन, वाणिज्य, व्यापार तथा लगानीलगायत त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई भारतले दिने भनिएको रकम अहिलेसम्म उपलब्ध नगराएको विषय भ्रमणका क्रममा प्राथमिकतामा राखेको सरकारले जनाएको छ । नेपाल–भारत रेलवे बारेमा समेत छलफल हुने मन्त्री बस्नेतले बताए । नेपालले १९५० को सन्धिको विषयसमेत उठाउने भएको छ । त्यसको असर र प्रभावबारे छलफल हुने र सुपुर्दगी सन्धिबारे पनि छलफल गर्ने योजना रहेको मन्त्री बस्नेतले बताए ।

नेपालले सबैभन्दा बढी प्राथमिकता दिने विषय भनेको भूकम्पपछि भारतले दिने भनेको पुनर्निर्माणका लागि सहयोग प्राप्त नभएको विषय हो । तर, भारतीय दादागिरीका कारण प्रत्येक वर्ष नेपालमा हुने गरेको डुबानका बारेमा भने अभैm पनि प्राथमिकता दिइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *