भक्तपुरमा पुनः सर्वेक्षणको काम शुरु
भक्तपुर, ३ भदौ । भक्तपुरसहित भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः सर्वेक्षणका लागि ३३२ इन्जिनियरले काम शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुरका अनुसार अति प्रभावित १४ जिल्लामा खटिने इन्जिनियरलाई तीन समूह बनाएर राजधानीमा तीन दिनको प्रशिक्षण दिएपछि शुक्रबारदेखि जिल्लातहमा काम शुरु भएको हो ।
यसअघि दुई समूह प्रभावित जिल्लामा परिचालन भएर काम शुरु गरिसकेको र तेस्रो समूह शुक्रबारदेखि काठमाडौँ, भक्तपुर, ललितपुर र सिन्धुलीमा परिचालित भएको हो । इन्जिनियरले प्राधिकरण केन्द्रमा दर्ता भएका करिब एक लाख २८ हजार वटा गुनासा पुनः सर्वेक्षण गर्ने छन् । गुनासा फस्र्योट भएर लाभग्राही तथा प्रवलीकरणको सूचीमा परेका घरधुरीको भने पुनः सर्वेक्षण हुने छैन । प्राधिकरणको केन्द्रीय कार्यालयमा दर्ता भएका दुई लाख सात हजार ८६१ गुनासामध्ये ३९ हजार ९७ लाभग्राही सूचीमा परेका छन् भने १३ हजार ५६५ प्रवलीकरण सूचीमा परेको प्रवक्ता यमलाल भुसालले जानकारी दिए । जिपिएस प्रविधिमा आधारित भएर ट्याब्लेटमार्फत गरिने पुनः सर्वेक्षणमा इञ्जिनियरले संकलन गरेका तथ्यांक सिधै केन्द्रीय सर्भरमा जम्मा हुने उनले बताए ।
पुनः सर्वेक्षणका लागि दोलखामा २७, गोरखामा २८, नुवाकोटमा १६, रामेछापमा २४, रसुवामा चार, धादिङमा २९, सिन्धुपाल्चोकमा १२, काभ्रेपलाञ्चोकमा ४१, ओखलढुंगामा १६, सिन्धुलीमा ६०, मकवानपुरमा ४८, काठमाडौँमा ११, ललितपुरमा आठ र भक्तपुरमा सातजना इन्जिनियर खटाइएको प्राधिकरणले जनाएको छ । पुनः सर्वेक्षण भदौ ३१ सम्म सक्ने प्राधिकरणको लक्ष्य छ । गुनासो दर्ता गराएका भूकम्प प्रभावितलाई आफ्नो क्षेत्रमा खटिएका इन्जिनियरबाट आफ्नो भत्केको घरको पुनः सर्वेक्षण गराई अनुदान पाउने प्रक्रियाबाट विमुख नहुन प्राधिकरणले अनुरोध गरेको छ । गुनासो दर्ता नगराएकाले भने स्थानीय वडा तहमा गुनासो दर्ता गराउन सक्ने छन् । पीडितको गुनासोलाई वडा गुनासो व्यवस्थापन समितिले सिफारिस गरी इञ्जिनियरलाई दिएमा तत्काल सर्वेक्षण गर्न प्राधिकरणले निर्देशन दिएको छ ।
सिन्धुली, मकवानपुर, काभ्रेपलान्चोक, दोलखामा सर्वेक्षण गर्नु पर्ने संख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम छ । प्राधिकरणले गुनासो संख्याको अनुपातमा इञ्जिनियर परिचालन गरेको जनाएको छ । १४ जिल्लाका दुई लाख सात हजार ५ सयले केन्द्रीय कार्यालयमा गुनासो दर्ता गराएको प्राधिकरणले जानकारी दिएको छ ।