कर्मचारीले घूस मागे : १०७ मा फोन गर्नूस्
काठमाडौं, २ साउन । सरकारी सेवा लिने क्रममा कुनै कर्मचारीले तपाईसँग घूस मागेका छन् ? यदि कुनै सरकारी अड्डाका कर्मचारीले सेवा प्रवाहमा अनेक बहाना बनाई घूस मागेर अनावश्यक दुःख दिइरहेको छन् भने तपाईले अब सीधै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फोन गर्न सक्नुहुनेछ ।
आफ्नो मोवाइल वा फोनबाटै १०७ अंक डायल गरेर अनियमितता गर्ने सरकारी कर्मचारीलाई उजुरी दिन सकिने व्यवस्था अख्तियारले थालेको छ । यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने अख्तियारले जनाएको छ । सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले यस्तो व्यवस्था गरेको हो ।
सरकारी निकायको भ्रष्टाचार र अनियमितताको छानविन गरी मुद्दा चलाउने संवैधानिक निकाय अख्तियारले सरकारी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन यस्तो सेवा सुरु गरेको जनाएको छ । ‘सरकारी सेवामा हैरानी भोगेका सेवाग्राहीलाई कहाँ – कसरी उजुरी गर्ने भन्ने जानकारी नभएको देखियो,’ आयोगका प्रवक्ता जीवराज कोइरालाले भने, ‘हटलाइन सेवाले भ्रष्टाचार नियन्त्रण गर्न र सेवा प्रवाहमा जनताको हैरानीको समस्या न्यूनीकरण गर्ने अपेक्षा लिएका छौं ।’