लोप हुँदै भादगाउँले कालोटोपी

भक्तपुर न्यूज

३१ साउन २०७४ १२:४१

लोप हुँदै भादगाउँले कालोटोपी

भक्तपुर । नेपालीको शान र मानका रुपमा परिचय कमाएको भादगाउँले टोपी एकादेशको कथा बनिसकेको छ । हस्तकला उत्पादनलाई सरकारले प्राथमिकताको सूचीमा राखेता पनि व्यवहारमा लागू हुन नसक्दा हस्तकलाको उत्पादन अन्तर्गतको यो विधा लोपोन्मूख बनेको हो । भक्तपुरमा उत्पादन गरिने भादगाउँले टोपीले विगतका दिनमा राम्रो बजार लिएता पनि नेपाल सरकारको अनिवार्य पोशाकमा यो टोपीले स्थान पाउन नसकेपछि टोपी बनाउने व्यवसायले समेत विस्थापित अवस्थाको सामना गरिरहेका छन् । विगतमा भक्तपुर जिल्लाका विभिन्न स्थानमा भादगाउँले टोपीको उत्पादन गरिने भएता पनि हाल उत्पादन नै हुन छाडेको छ ।
व्यापारीक प्रयोजनका लागि बिगतमा सामान्य उत्पादनको माग बमोजिम दुई चार स्थानमा मात्र यो टोपी उत्पादन हुने गरेता पनि भूकम्प पछि सबै बन्द जस्तो छन् । टोपीको माग नहुँन र टोपी उत्पादनका लागि चाहिने आवश्यक वस्तुको समेत उपलब्धता हुन नसक्दा यो पेशा धरापमा पर्दै गएको बताउँछन् यो व्यवसायमा लागेका एक टोपी उत्पादक । उनी भन्छन्, सरकारको हस्तकला उत्पादनको संरक्षण र प्रबद्र्धनको नीतिले कस्तो काम गरेको छ भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन यही भादगाउँले टोपी उत्पादनको हालत हेरेमा मात्र पनि पुग्छ । सरकाले पहिला निजामती कर्मचारीहरूका लागि टोपी लगाउन अनिवार्य गर्दाको अवस्थामा यो टोपीको माग अलि बढी नै रहेता पनि हाल आएर नेपालको शान र मानका रुपमा ख्याती कमायको टोपीलाई भने आफ्नै अस्तित्व जोगाउन धौ धौ परेको छ ।
एक टोपी उत्पादनकर्ता भन्छन्, भादगाउँले टोपीको विगतमा बजार राम्रो थियो । विवाह, ब्रतवन्ध भनौं वा शुभ कार्यका समयमा यो टोपीको उपयोग गरिनुका साथै अन्य समयमा समेत लगाउने गरिन्थ्यो । तर हाल आएर बजारमा विभिन्न किसिमका टोपीहरूले बजारतर्फ सबैको ध्यान हराउँदै जाँदा यसको अस्तित्वनै समाप्त हुन लागेको छ । भक्तपुरको भादगाउँले कालोटोपी लोपान्मुख अबस्थामा पुगेको छ । सरकारको उदारशिनता र बजार प्रर्वद्धनका साथै हस्तकला उत्पादित बस्तुलाई जसरी संरक्षण गर्ने भनेको थियो त्यो अन्र्तगत भादगाउँदले टोपीका मामलामा सरकारले केही गर्न सकेको छैन । टोपीको प्रयोग स्वदेशमा मात्रै नभई विदेशमा पनि उत्तिकै भएपनि पछिल्लो समय स्वदेशमै यसको प्रयोगमा कमी आएको छ तर सरोकारवालाहरुको ध्यान यता तर्फ जान सकेको छैन् ।
प्रशासनिक क्षेत्रमा बढी प्रयोग गर्ने भादगाउँले टोपीको चलन चल्तीबारे कुनै लिखित इतिहास नभए पनि मल्लकालीन राजा जयस्थिति मल्लले जात विभाजन गर्दा भक्तपुरकै एउटा छुट्टै जातलाई टोपी बनाउने पेशा दिएको संस्कृतबिद् प्रा.डा.पुरुषोत्तम लोचन श्रेष्ठ बताउँछन् ।
भादगाउँले टोपी बनाउने नेपालमै भक्तपुरमा एउटै मात्र जात चुल्याद्यो रहेको उनले जानकारी दिए । तर बढ्दो बेरोजगारी समस्याका कारण (चुल्याद्यो) यो जात बाहेक अन्य जातका मानिसहरुले पनि विगतमा यो पेशा अँगालेको बताईएको छ ।
विषेशगरी भादगाउँले टोपी बनाउने बस्ती भनेर भक्तपुर नगरमा रहेका सूर्यमढी, तौलाछें, भोलाछें र गछें आदिलाई लिन सकिने जानकारहरु बताउँछन् । तर पछिल्लो समय यी क्षेत्रकै बासिन्दाले भादगाउँले टोपीको प्रयोग गर्न छोडिसकेका छन् ।
संयुक्त राष्ट्रसंघमा दर्ता गराउँदा आफूलाई नेपाली भनेर चिनाउन नेपालले रञ्जना लिपी तथा नेपालको नेपाली भाषा प्रस्तुत गरेर नेपाली पोशाकका रुपमा दौरा सुरुवाल शिरमा भादगाउँले टोपीको समेत प्रस्तुत गरेको संस्कृतिविद् श्रेष्ठले बताएका छन् । त्यसको आधारमा तत्कालिन राजा त्रिभुवनले आफनो पालामा ५० पैसाको मुद्रामा सर्वप्रथम भादगाउँले टोपी लगाएर मुद्रा निकालेका थिए । जुन अहिले दुर्लभ भइसकेको उनी बताउँछन् ।
भादगाउँले टोपी भक्तपुरको चिनारी हो, जसले गर्दा कुनै पनि नेपाली नागरिक संसारको कुनै कुना काप्चामा पुगे पनि नेपाली भनेर चिनिने एउटै मात्र राष्ट्रिय पोसाक दौरा सुरुवाल हो र त्यो दौरा सुरुवालको सबभन्दा माथिल्लो शिरमा बस्ने भादगाउँले टोपी भएको जानकारहरुको भनाई छ ।
अहिलेको समयमा यस पेशाबाट जीवन निर्वाह गर्न निकै कठिनाईहरु भोग्नु परेको भादगाउँले टोपी बनाउँने पेशा अँगाल्दै आएका कालीगढहरु बताउँछन् । यो टोपी बनाउँन धेरै मेहनत लाग्ने भएपनि ज्याला कम भएकोले जीवन निर्वाहमा समस्या हुँदै आएको उनले बताए ।
महंँगो कच्चा पदार्थ र उचित बजार व्यवस्थापनको कमीले भादगाउँले टोपी बनाउने व्यवसाय लोप हुँदै गएको कालीगढहरु बताउँछन् । देशकै पहचिान झुण्डिएको भादगाउँले कालोटोपीको संरक्षण प्रबद्र्धनका लागी सरकारले समेत पछिद्धल्ले समय कुनै चासो नदेखाएको व्यवसायीहरु बताउँछन् ।
राजा महेन्द्रको पालासम्म कुनै पनि नेपाली नागरिक सिहंदरबार भित्र छिर्न भादगाउँले टोपी अनिवार्य रुपमा लागाउनु पर्ने नियम थियो । तर त्यो नियम केही समयका लागि मात्र सिमित रहेपनि अहिले नियम खारेज जस्तै भैसकेको जानकारहरु बताउँछन् ।
भक्तपुरबासीले मात्र नभएर देशै भर भादगाउँले टोपी भन्दा ढाँकाटोपी बढी प्रयोग गर्न थालेका छन् । यसैले पनि पुख्यौली पेशा र देशको पहिचान नै लोप हुने अबस्थामा पुगेको जानकारको बुझाईछ । बाक्लो कालो कपडाले निकै मेहेनतका साथ बनाउने यो भादगाउँले टोपीले मानिसको मष्तिस्कलाई समेत रक्षा गर्ने गुण रहेको कालीगढहरु बताउँछन् । तर आधुनिकताको नाममा आफ्नो राष्ट्रियता झल्काउने टोपीलाई त्यागेर अन्य विभिन्न विदेशी टोपी र क्यापहरु लगाउने मानिसहरुको प्रवृतिले देश भित्रकै एउटा समुदायको रोजी रोटी गुम्ने अवस्थामा पुगेको छ । भाषा र पोसाकहरुले भन्दा पनि यदि सबैको शिरमा टोपी भइदिएको भए हामी नेपाली हो भनेर संसारको कुना काप्चामा चिन्न सकिने सँस्कृतिविद् श्रेष्ठको भनाई छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *