तरकारीको भाउ एक्कासी बढ्यो

भक्तपुर न्यूज

३१ साउन २०७४ १०:५६

तरकारीको भाउ एक्कासी बढ्यो

काठमाडौं, ३१ साउन। एकसाता अघिमात्रै प्रतिकिलो ४५ रुपैयाँमा भिण्डी खरिद गरेका उपभोक्ता मंगलवार त्यही भिण्डी प्रतिकिलो ८५ रुपैयाँमा किन्न बाध्य भए । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो मंगलवार भिण्डी खुद्रामा प्रतिकिलो ४० रुपैयाँमा कारोबार भएको थियो । त्यही भिण्डीको मूल्य आज प्रतिकिलो ८५ रुपैयाँ पुगेको छ । एकसाताकै बीचमा भिण्डीको मूल्य झण्डै शतप्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, एक साताअघि कालिमाटी तरकारी बजारमा ३० रुपैयाँ प्रतिकिलोमा खुद्रा विक्री भएको प्याजको मूल्य मंगलवार औषत खुद्रा मूल्य प्रतिकिलो ६५ रुपैयाँ छ । एक सातामा प्याजको प्रतिकिलो औषत मूल्य ८५ प्रतिशतले बढेको छ । अघिल्लो साता बुधवारदेखि नै प्याजको मूल्य आकाशिएको हो ।

एक साताको बीचमा कालिमाटी तरकारी बजारमा हरियो धनियाँको मूल्य ६५ प्रतिशत र परवलको मूल्य ६१ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, झिगुनीको मूल्य ४५ प्रतिशत र बन्दाको मूल्य ४० प्रतिशत बढेको छ । सानो गोलभेँडाको मूल्य ३० प्रतिशत र भण्टाको मूल्य २८ प्रतिशतसम्म बढेको छ ।

सोमवारमात्रै अधिकतम ५० रुपैयाँ प्रतिकिलोमा विक्री भएको लौकाको मूल्य मंगलवार प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । अघिल्लो मंगलवार १९५ रुपैयाँमा मा खुद्रा विक्री भएको च्याउको मूल्य अहिले २०५ रुपैयाँ पुगेको छ ।

व्यवसायीका अनुसार हालैका दिनमा तराई क्षेत्रमा आएको बाढीका कारण तरकारी अभाव भएको र त्यसैका कारण मूल्य आकाशिएको हो । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले तराई क्षेत्रमा भएको डुबानका कारण त्यहाँबाट तरकारी भित्रिने क्रम ठप्प भएका कारण भाउ आकाशिएको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *