सडक सकसपछि बिमानस्थलमा यात्रुको चाप बढ्दो
काठमाडौं, २७ साउन । राजधानी काठमाडौमा रहेको अन्तराष्ट्रिय विमानस्थलबाट तराई तथा मधेश र पश्च्मि नेपालतर्फ आवत जावत गर्ने हवाई यात्रुको चाप यतिबेला निक्कै बढेको छ । नारायणगढ–मुग्लिङ सडकखण्डका साथै बर्षातले पश्चिम नेपालका विभिन्न स्थानका सडकमा पहिरो गएपछि सडक यात्रा जोखिम र गन्तव्यसम्म पुग्न घण्टौं लाग्ने भएकाले अहिले हवाई उडान राम्रो विकल्प बन्न थालेको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । हवाई यात्रु बढ्न थालेपछि विमानसेवा कम्पनीमा यात्रुको चाप बढिरहेको छ ।
केही समयअघिसम्म काठमाडौंदेखि भैरहवासम्म दैनिक ६ वटा उडान हुने गरेकामा अहिले दैनिक १२ वटासम्म उडान हुन थालेको प्राधिकरणले बताएको छ । यस्तै काठमाडौं नेपालगञ्जमा पनि पहिलाको तुलनामा अहिले विमान उडान बढेको सौर्य एयर लाइन्सका नेपागञ्ज प्रमुख भोजराज शाहीले बताएका छन् । विगतमा यात्रुको अभावले समस्या भएपनि अहिले हवाई यात्रुको अभाव नरहेको र दैनिक रुपमा उडान भर्दै आएको शाही बताउँछन् ।
सडकमार्गको जोखिमका कारणले गर्दा अहिले हवाई यात्रु बढेको उनले जानकारी दिए । पहिले बुद्ध एयरको तीनवटा उडान हुने गरेकामा अहिले दैनिक ६ वटासम्म उडान भर्ने गरेको बुद्ध एयर अहिले भैरहवा, नेपालगञ्ज लगायतका शहरमा उडान थपेको छ । नारायणगढ–मुग्लिङ सडकखण्डमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाएपछि हवाई यात्रुको संख्या अझै बढेको सिम्रिक एयर कर्मचारी मुकेश झाले बताए । हरेक वर्खायाममा हवाई यात्रु बढ्नु स्वाभाविकै हो तर अहिले नारायणगढ–मुग्लिङ सडकखण्डको कारणले गर्दा हवाई यात्रा गर्नेको संख्या बढ्दै गएको ट्राभल्स सञ्चालक श्रीकुमार केसी बताउँछन् ।
काठमाडौबाट पश्चिम नेपालका भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेत लगायतका जिल्लामा बुद्ध, यती, सिम्रिक र सौर्य एयरले नियमित उडान गरिरहेको प्राधिकरणले जनाएको छ । काठमाडौ भैरहवासम्मका लागि अहिले न्यूनतम भाडा दर तीन हजार ५ सयदेखि अधिकतममा ६ हजारसम्म छ भने नेपालगञ्जसम्मका लागी ५ हजारदेखि ११ हजारसम्म भाडा दर रहेको छ ।