भक्तपुरमा गाईजात्रा मनाईदै

भक्तपुर न्यूज

२४ साउन २०७४ ६:४९

भक्तपुरमा गाईजात्रा मनाईदै

भक्तपुर, २४ साउन । भाद्रकृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित मनाईदै छ ।
भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण घिन्ताङघिसी नाच बनेको छ । घिन्ताङघिसीको साथै माँक प्याखँ अर्थात् बाँदर नाच यहाँको अर्को विशेषता हो ।
यो नाचका क्रममा मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीति लीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ । गाई वा ताहामचा वनाई नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहेको बुढापाका बताउँछन् । एक वर्षभित्र दिवङ्गत आफन्तको सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराइने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरि उक्त पर्व मनाईएको छ । यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ । गाईजात्रा धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पर्व हो ।
भक्तपुरमा गाईजात्राको औपचारिक शुरुवात जनैपूर्णिमाको साँझ नै गरिन्छ । गाईजात्राको पूर्व सन्ध्यामा जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङ्घिसी नाचले नगर परिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा शुरु भएको गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले बताए ।
सर्वसाधारणले गाईजात्रा निकाल्नुअघि मंगलबारै दरबार स्क्वायरस्थित तलेजु भवानीको गाईजात्रा निकाल्ने परम्परा रहेको उनले बताए । भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिइने उनी बताउँछन् ।
यहाँको मुख्य आकर्षण घिन्ताङ्घिसी नाच मानिन्छ । त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो । तहामचा बाँसबाट बनाइन्छ । हरियो, करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइने प्रचलन रहेको उनले जानकारी दिए । तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ ।
तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ । त्यसले जात्रा हेर्न आएकाहरुलाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्छ । तहामचालाई नगर परिक्रमा गराउनु पूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले किरियापुत्रीद्वारा संकल्प गराई विधि बमोजिम पूजा गर्ने प्रचलन रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई ‘आआफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकामा यतिले पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुरूप जात्राको प्रचलन चलेको संस्कृतविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
त्यतिबेलादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिले पनि कायमै छ । देशका विभिन्न शहरमा गाईजात्रा मनाइए पनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता हुन्छ । भाद्र कृष्णाष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा ‘रामायण’का करुण रसका गीत पनि गाउने चलन छ ।
व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै विसं २०१७ पुस १ गतेको ‘शाही कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्न सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजना गर्ने गरेको देखिन्छ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत दैलेख, सुर्खेत, बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशूली बजार, चरीकोट, दिक्तेल, विराटनगर, वीरगन्ज, हेटौँडा, भोजपुर, चैनपुर, इलाम, धरान र पोखरालगायत स्थानमा धुमधामका साथ मनाउने गरिन्छ । गाईजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक बिदा समेत दिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *