उपत्यकामा बढ्दो साईबर अपराध
भक्तपुर । आजभोलीको समय सूचना र प्रविधिको समय हो । प्रत्येक व्यक्ति यसको यसको भरपूर उपयोग गर्न अग्रसर भइसकेका छन् । राजधानी काठमाडौको सिंहदरबार आसपासमा मात्रै नभई अहिले देशका दुरदराजमा पनि सूचना प्रविधिलाई सहजै जोडिएको छ ।
अहिलेको सामाजिक अवस्थामा आफूलाई स्थापित गर्न सूचना र प्रविधिलाई अँगाल्नुपर्ने बाध्यकारी या अत्यावश्यक अवस्था छ भन्दा दुईमत नहोला । तर सञ्चार प्रविधिको सहि प्रयोग भन्दा पनि पछिल्लो समय गलत प्रयोग बढी हुन थालेको पाईन्छ । यतिबेला समाजमा सूचना र प्रविधिको व्यापक दुरुपयोग भएको छ । विकृति या विसंगतिहरू दिनप्रतिदिन उत्पन्न भएका छन, जसबाट व्यक्ति विशेष मात्र नभई सिंगो समाज नै प्रताडित बन्न पुगेको जानकारहरु बताउँछन् ।
यसको दुरुपयोग बढ्दै जाँदा कतिपय ठूला घटनाहरु साइबर गतिविधिबाट नै भएको प्रहरी अनुसन्धानले समेत देखाएको छ । परम्परागत रूपमा देखा पर्ने अपराधभन्दा सूचना र प्रविधिसँग सम्बन्धित अपराध बढी खतरापूर्ण हुने जिल्ला प्रहरी कार्यालय भक्तपुर अन्र्तगत रहेको अपराधले जनाएको छ । शाखाका अनुसार ‘कतिपय अपराध विद्युतीय अपराधमा परिणत भइरहेका छन् ।’ ‘जसलाई धेरै हदसम्म साइबर अपराध भनेर बुझ्न सकिन्छ ।’
सूचना प्रविधिले ल्याएको परिवर्तनपछि चोरी, अपराध, चोरी अपराध नै हो, डाँका अपराध डाँका अपराध नै हो र वित्तीय अपराध, वित्तीय अपराध नै हो उनले भने ‘मात्र यसमा सूचना प्रविधि सहयोगीको रूपमा प्रयोग भएको हुन्छ ।’ विद्युतीय अपराध विद्युतीय वा साइबर अपराध नै भएको उनले बताए । हरेक गतिविधिमा सूचना प्रविधिको प्रयोग हुने हुँदा कुनचाहिँ कुन अपराध हो, यसलाई सही ढंगले विश्लेषण गरेर कानुनी उपचार गरिनु उपयुक्त देखिने उनको भनाई छ ।
सामान्य अर्थमा भन्नुपर्दा कानुनद्वारा निषेधित कम्प्युटरसम्बन्धित दुरुपयोग वा अपराधहरू नै साइबर अपराध भएको छ । महानगरिय प्रहरी परिसर भक्तपुरमा बार्षिक ३० देखि ४० वटा यस्ता उजुरीहरु जिल्ला प्रहरीमा आउने गरेका छन् । जसमा कतिपय उजुरीमाथि अनुसन्धान पछि साइबर अपराधको सार्वजनिक मुद्दा नै दर्ता गरिएको छ । कतिपय उजुरीहरु अनुसन्धानका लागि काठमाडौ प्रहरी अपराध महाशाखामा पठाईएको छ ।
कतिपय उजुरी जिल्लामै मिलापपत्र गराईएको प्रहरीले जनाएको छ । साइबर अपराधका उजुरीमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधि पर्ने भएकोले यसको अनुसन्धान काठमाडौबाटै गरिने बताउँदै बाँकेमा पछिल्लो समय फस्टाउँदो सूचना प्रविधिका कारण यस्ता अपराध बढ्दै जान थालेको भक्तपुर प्रहरी बताउँछ ।
इन्टरनेटबाट हुने अश्लील हर्कत, इन्टरनेटबाट हुने वेश्यावृत्ति, अनधिकृत प्रतिलिपिको बेचबिखन, अनलाइन जुवाका गतिविधि (सत्ताबाजी) अनलाइन गेमहरू, अनधिकृत वा राज्यले बन्देज गरेका चिजहरूको अनलाइन प्रकाशन, गोपनीयताको चुहावट, सामाजिक सञ्जालबाट दिने गालीगलौज, धम्कीलगायतका गतिविधि साइबर अपराध अन्र्तगत पर्ने गर्छन ।
विदेशमा बसेर नेपालमा रहेका मानिसलाई आर्थिक असुलीका लागि धम्की दिने, फिरौती माग्नेसममका निवेदनहरु भक्तपुर जिल्ला प्रहरीमा आएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको संख्या बढेको अपराध शाखाले जनाएको छ । यसको नियन्त्रण र रोकथामका लागि प्रहरी भरपुर प्रयास गरिरहेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी किरण राणाको भनाई छ । तर भक्तपुरबासी आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउन सकेका छैनन् ।