भक्तपुर मालपोतमा विचौलियाको विगविगी
भक्तपुर, ११ साउन । भक्तपुर मालपोत कार्यालयमा दिनहुँ लाग्ने भिडमा लेखापढी व्यबसायीहरूको पनि उल्लेख्य संख्या रहने गरेको छ । तिनै भिडवाला लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीलाई कामको सहजताको नाममा हैरानी दिने गरेको सेवाग्राहीको गुनासो छ । उनीहरुले गैरकानूनी रुपमा मनोमानी शुल्क समेत असुली गर्दै आएका छन् । अहिलेसमम लेखापढी व्यवसायीले काम गरे वाफत लिन पाउने शुल्क तोकिएको छैन् । यसैले पनि उनीहरुको मनपरी बढ्दै गएको छ ।
मालपोत कार्यालय भित्र सेवाग्राहीको कामलाई सहज गरिदिने उद्देश्यले बसेका भनिएका लेखापढी ब्यवसायीहरूले सेवाग्राहीहरूलाई अनावश्यक रुपमा सताउने र विभिन्न बहानामा मोटो रकम असुल्ने गरेको गुनासो सेवाग्राही गर्छन् । भक्तपुर जिल्ला स्थित मालपोत कार्यालयमा मात्रै नभई नापी, यातायात ब्यवस्था कार्यालय लगायत बढी जनसरोकार राख्ने सरकारी कार्यालयहरूमा लेखापढी ब्यवसायीहरूको भिडभाडले सर्वसाधारणलाई झुक्याउने गरेको गुनासो बढेको छ ।
मालपोत कार्यालय हाता भित्रै ३ दर्जनबढी लेखापढी गर्नेहरू अड्डा जमाएर बस्ने गरेका छन् । कार्यालयमा सेवाग्राहीहरू भन्दा पनि लेखापढी ब्यवसायीहरूको भिड बढ्दै गएपछि सेवाग्राहीहरू समेत अन्यौलमा पर्ने गरेको कार्यालय नै बताउँछ । कार्यालय हाता भित्रै मनोमानी रुपमा बस्दै आएका लेखापढी ब्यवसायीहरू मालपोतमा कमाई राम्रै हुने देखेपछि कार्यालयभित्र आफ्नो बस्ने ठाउँ पक्का गर्न तछाडमछाड गर्ने गरेका छन् । सेवाग्राहीहरूलाई आफूतिर ल्याउनका लागि उनीहरूले एजेन्ट समेत राख्ने गरेको पाईएको छ । पहिले निवेदन लेखिदिने भन्दै बसाल्छन, पछि त सबै काम म नै गरिदिन्छु भन्दै पैसाको बाँगेिनङ्ग गर्न थाल्छन् एक सेवाग्राहीले भने ‘विचौलियाले तनाब दिईरहेका छन ।’
लेखापढी ब्यवसायीहरू कुनै पनि कार्यालय हाताभित्र बस्न मिल्दैन । यतिमात्र नभएर सेवाग्राहीको काम गरे बापत कति पैसा लिने भन्ने उनीहरुसँग कुनै पनि मापदण्ड छैन । जसका कारण उनीहरूलाई मनोमानी रुपमा रकम असुल्न सहज भएको भक्तपुर मालपोत कार्यालयका एक कर्मचारी बताउँछन् । लेखापढीहरूको बीचमा अस्वस्थ प्रतिस्पर्धा चल्न थालेपछि मालपोत जस्तै अरु कार्यालयमा समेत संख्या बढ्दै गएको छ । ब्यवसायीकै कारण सेवाग्राहीहरू अन्यौलमा परेका छन् । सेवाग्राहीहरूबाट लेखापढीहरूको बिषयमा गुनासो आउने गरेको ती कर्मचारीले बताए ।
अहिले कार्यालय हाताभित्र ब्यवसायीहरूको संख्या ह्वात्तै बढेपछि थप समस्या सिर्जना भएको छ । कानुनी रुपमा कुनै पनि कार्यालय भित्र बस्न नमिले पनि पहिलेदेखि बस्दै आएकोले ब्यवस्थापन गर्न नसकिएको लेखापढी व्यवसायमा संलग्नहरु नै बताउँछन् । केही दिन अघि मात्रै कार्यालयमा आर्थिक चलखेल भएको कारण भक्तपुर मालपोतकै केही कर्मचारीलाई अख्तियारले घुस सहित पक्राउ गरेको थियो । अहिले उनीहरुमाथि आबश्यक कानूनी अनुसन्धान चलिरहेको छ ।