चलचित्र छक्कापञ्जा–२ को ’ए दाजु नसमाऊ नारीमा’ गीत विवादमा
काठमाडौं, ९ साउन । कलाकार दीपकराज गिरीले निर्माण गरेको चलचित्र छक्कापञ्जा–२ को ’ए दाजु नसमाऊ नारीमा’ शीर्ष गीत विवादमा तानिएको छ ।
प्रिन्स नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो । छक्का पञ्जा टोलीले उनको नाम हटाएर अल्मोडा राना उप्रेतीको संगीत भनेर उल्लेख गरेको थियो । सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि यतिबेला भने युटुभमा कान्छा राना मगरको नाम समेत उल्लेख गरिएको छ । कान्छा मगर नेपालीमाथि अन्याय गरेको भन्दै परिवारजनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा हाल्ने तयारी गरेका थिए ।
आमा सरस्वती मुभिजको व्यानरमा दीपकराज गिरी र दीपाश्री निरौला प्रस्तुतकर्ता रहेको फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, वर्षा राउत र स्वस्तिमा खड्काको अभिनय रहेको छ ।
असोज ११ मा रिलिज हुने फिल्ममा दीपकराज गिरी निर्माता छन् भने विकासराज आचार्य कार्यकारी निर्माता छन् । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र दीर्घ गुरुङको छायांकन छ रहेको छ ।