दुर्घटनामा एकको मृत्यु, एक घाईते
भक्तपुर, ७ साउन । मध्यपुर थिमिमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । कौशलटारस्थित अरनिको पेट्रोलपम्प नजिक शनिबार काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा २ क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा काठमाडौं कीर्तिपुर बस्ने १८ वर्षकी अश्मी सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले बताएका छन् । घटनामा घाइते भएका उनलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा घाइते मोटरसाइकल चालक काठमाडौं कीर्तिपुर बस्ने वर्ष २२ को हरि गहतराजको नागरिक अस्पतालमा शनिबार साँझसम्म उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दुबै सवारी साधन र टिपर चालक भक्तपुर नगरपालिका– ९ बस्ने ३२ वर्षको जीवन ज्याठालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।