प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा : प्रधानमन्त्री देउवा

भक्तपुर न्यूज

६ साउन २०७४ ९:२२

प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा : प्रधानमन्त्री देउवा

काठमाडौं, ६ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अव छिट्टै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा हुने बताएका छन् ।
बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री देउवाले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि मात्रै मुलुक स्थायी रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्ने पनि स्पष्ट पारेका हुन् ।
स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले भने– “प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजोमात्र गठन भइसकेको छ ।”
निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उनको धारणा थियो । प्रधानमन्त्री देउवाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु काँगे्रसको जिम्मेवारी रहेको विचार व्यक्त गरे ।
सो अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना भएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गरेका थिए । २५ हजार रूपैयाँसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलले ग्रहण गरेकी थिईन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *