भक्तपुरमा अझै करोडौको बक्यौता उठन बाँकी
भक्तपुर, २७ असार । सरकारले विद्युतको रकम भुक्तानी नगर्नेहरुको लाईन काट्न थालिरहँदा भक्तपुरमा भने अझै करोडौंको रकम उठ्न बाँकी रहेको छ । भक्तपुरमा अहिले पनि करिब साढे १३ करोड रुपैया विद्युतको बक्यौता उठ्न नसकेको नेपाल विद्युत प्राद्यिकरण भक्तपुर शाखाले दिएको जानकारी छ ।
सबैभन्दा धेरै भक्तपुर नगरपालिका भित्र रहेको सडक बत्तिको रकम उठ्न बाँकी रहेको छ । सडक बत्तिको मात्र ७ करोडबढी बक्यौता रकम रहेको छ । विभिन्न मन्दिरमा रहेको बत्तिहरुको समेत ३ करोड जति बक्यौता रहेको छ । भक्तपुर शाखामा ३ दशक अगाडि देखिको विद्युत महसुल उठ्न बाँकी छ । बक्यौता उठाउन निरन्तर प्रयास गर्दा पनि प्राधिकरणले उठाउन नसके पछि त्यस्ता ग्राहकको नाम कालो सूचीमा राखेको छ । तर पनि उनीहरुले रकम तिरेका छैनन् ।
कालो सूचीमा समावेश गरिएका ग्राहकहरुबाट मात्रै २ करोड बढी बाँकी बक्यौता रहेकोे छ । कालोसूचीमा पर्नेहरुमा २०४० अघिदेखिका ग्राहक समेत रहेको छ । अहिलेपनि ८ सय ६९ जना ग्राहक कालो सूचीमा परिसकेका छन् । तर लाइन काटेपछि पनि पैसा तिर्न आएका छैनन् ।