संविधान संशोधन विधेयक अगाडि बढ्छः प्रचण्ड
काठमाडौं, २६ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता प्रचण्डले आफ्नो नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढ्ने बताएका छन् । सोमबार विहान माओवादी केन्द्र संसदीय बोर्डको बैठकमा बोल्दै प्रचण्डले संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने आफूहरूको उद्देश्य रहेकाले अघिल्लो सरकारले संसदमा प्रस्तुत गरेको संविधान संशोधन विधेयक अब प्रक्रियामा अगाडि बढ्ने बताए ।
उनले भने, ‘संशोधन विधेयकलाई निर्णयार्थ पेश गरेर राजपा लगायतका असन्तुष्ट दललाई पनि निर्वाचनमा ल्याउनुको बिकल्प छैन । हामीले जिम्मेवारपूर्ण भूमिका खेल्न सकेनौं भने असन्तुष्टीमा खेल्ने तत्वले फाइदा उठाउन सक्छन् ।’ बैठकमा प्रचण्डले संविधानको कार्यान्वयन र निर्वाचनका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए। बैठकमा अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिको रिक्त सभापतिको उम्मेदवारी र अन्य समितिमा रिक्त सदस्यहरुको पदपूर्तिका विषयमा पनि छलफल भएको थियो ।
श्रम समितिको सभापतिको उम्मेदवारी र समितिका सदस्यहरुको पदपूर्तिका लागि बैठकले आफ्नो सुझाव दिएको र त्यसबारे अन्तिम निर्णय पार्टी हेर्डक्वार्टर बैठकले गर्ने माओवादी केन्द्र संसदीय दलका प्रमूख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।