अस्पतालका अध्यक्षको मिलेमतोमा कर्मचारीबाटै देवकोटालाई सरुवाको धम्की

भक्तपुर न्यूज

२६ असार २०७४ ३:१३

अस्पतालका अध्यक्षको मिलेमतोमा कर्मचारीबाटै देवकोटालाई सरुवाको धम्की

भक्तपुर, २६ असार । स्रोत साधन र आबश्यक जनशक्ति भएरैपनि अस्तव्यस्त बन्दै गएको भक्तपुर अस्पताल पछिल्लो समय सुधारोन्मुख अबस्थामा देखिएको छ । अस्पतालका कर्मचारी र चिकित्सकका साथै अस्पताल व्यवस्थापन समितिको लापरवाहीले अस्तव्यस्त बनेको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टका रुपमा डाक्टर सुधा देवकोटा आएपछि यो अस्पतालको मुहार फेरिन थालेको हो । तर अस्पतालमा हालीमुहाली र आथिृक चलखेलदेखि शक्तिको पहुँच र प्रभाव देखाउँदै आएका कर्मचारी चिकित्सकले अस्पतालको सेवा सुधार्न खोज्दा मेडिकल सुपेरिटेण्डन देवकोटालाई सरुवाको धम्की दिदैं आएको खुलासा भएको छ ।

यसअघिका डाक्टर हरि केसीको सरुवा भएपछि सो पदमा सरुवा भएर आएकी देवकोटाले अस्पतालको सेवा सुधार्दै २४ सै घन्टा सेवा दिने निर्णय गरेपछि काम ठगेर मोजमस्तीमा पल्किएका यहाँका कर्मचारीले तोकिएको समयसम्म काम गर्नु पर्ने भएपछि देवकोटाको सरुवाको धम्की दिदै आएका हुन् । यसमा अस्पताल व्यवस्थापन समितिको पनि कर्मचारीसँग मिलेमतो भैरहेको अस्पताल निकट स्रोतले जनाएको छ ।
अस्पतालको तलब खाएर निजी अस्पतालमा जाने र ११ बजे आएर २ बजेपछि क्लिनिक जाने यहाँका चिकित्सकलाई पूरै समय अस्पतालमा रहेर सेवा दिन आग्रह गर्दा डा सरिता श्रेष्ठ र डा जमुना किरण पौडेलले उल्टै कर्मचारीको हस्ताक्षर गराएर सरुवा गर्ने धम्की दिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत २४ सै घन्टा प्रसूति सेवा दिनेगरी आएकी डा पौडेल भक्तपुर अस्पतालमा केही घन्टा मात्रै बसेर अन्य समय गठ्ठाघरमा रहेको नागरिक सामुदायिक अस्पतालमा नियम विपरीत गएर सेवा दिएपछि सुपरिटेन्डेन डा देवकोटाले २४ सै घन्टा सेवा दिन निर्देशन दिएकी थिइन् । क्वार्टरको सुविधा लिएर अस्पतालकै सवारी साधनको समेत दुरुपयोग गरी अन्यत्र गएर सेवा दिएको पाइएपछि त्यसलाई रोक्न खोज्दा विवाद भएको प्रशासनको भनाइ छ ।

त्यसैगरी अस्पतालमा सातामा दुई दिन आएर ६ दिनको हाजिर गर्दैआउनु भएकी अर्का डा सरिता श्रेष्ठलाई प्रत्येक दिन अस्पतालमा सेवा दिन डा देवकोटाले निर्देशन दिंदा विवाद चर्किएको थियो । प्रशासन कर्मचारीकाअनुसार सातामा दुई दिन अस्पतालमा आउने र अन्य दिन निजी क्लिनिकमा जाने गरेकी डा श्रेष्ठले एकै पटक छ दिनको हाजिर गर्दा पनि प्रशासन प्रमुख मौन बसेकाले समस्या आएको हो ।
मेडिकल सुपरिटेन्डेन्टमा डा देवकोटा आएपछि डा श्रेष्ठलाई पूरै समय भक्तपुर अस्पतालमा सेवा दिन निर्देशन दिएकामा उनले सरुवाको धम्की दिएपछि दुई जनाबीच बोलचाल नै बन्द भएको प्रशासनका कर्मचारीको भनाइ छ ।

विवादबीच डा पौडेल र डा श्रेष्ठले केही दिनयता अस्पतालमा थप समय काम गर्न थालेपनि अस्पतालमा कर्मचारीबीच नै बोलचाल बन्द हुँदा व्यावहारिक समस्या भएको कर्मचारीको गुनासो रहेको छ । केही चिकित्सक र कर्मचारीको मिलेमतोमा ल्याबलगायतका विभिन्न परीक्षण एवम् एक्सरेका लागि बाहिर क्लिनिकमा पठाउने र यहीँ उपचार हुने रोगको समेत उपचार नगरी निजी अस्पतालमा पठाउँदै आएकामा अहिले त्यसलाई रोकेर अस्पताल मै सेवा दिन सुरु गरेको अस्पतालको दाबी छ । अहिले एक्सरे, ल्याब, फार्मेसी, प्रसूति र आकस्मिक सेवालाई २४ सै घन्टा सञ्चालनमा ल्याइएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा देवकोटाले अस्पतालको सेवा सुधार गरेको दाबी गर्दै भनिन्–“अहिले सबै चिकित्सकलाई नियमित गराएको छु, काम नगरी निजी क्लिनिक जाने चिकित्सकलाई यहाँ नियमित गराएको छु, ओपिडी सेवालाई विस्तार गराएको छु, राति पनि अस्पतालमा चिकित्सकलाई अनिवार्य बस्ने व्यवस्था गरेको छु ।” अस्पतालको सेवालाई सुधार्न खोज्दा सरुवा गर्ने धम्की आए पनि त्यसको पर्वाह नगरी काम गरेको बताउँदै उनले यहाँ उपचार हुनै नसक्ने बाहेक अरु बिरामीलाई बाहिर नपठाउने र रिक्त रहेको जनशक्ति पठाइदिन स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको बताइन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर खड्का पनि अस्पताल सुधारमा नभई कर्मचारीको मिलेमतोमै कमाउ अभियानमा सक्रिय हुँदै आईरहेको बताईएको छ । उनी नेपाली काँग्रेसका तर्फबाट राजनीतिक नियुक्तीमा यो अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा आएका हुन् । स्मरण होस् यसअघि एक सार्वजनिक कार्यक्रममै अध्यक्ष खड्काले समाचार संकलनमा गएका भक्तपुरका केही पत्रकारमाथि दुव्र्यवहार पनि गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *