माघ मसान्तभित्र सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्नु पर्ने

भक्तपुर न्यूज

२० माघ २०७३ ५:३८

माघ मसान्तभित्र सामुदायिक विद्यालयमा व्यवस्थापन समिति गठन गर्नु पर्ने

भक्तपुर, २० माघ । भक्तपुरका अधिकांश सरकारी सामुदायिक विद्यालयहरुले नयाँ व्यवस्था अनुसार विद्यालय व्यवस्थापन समिति गठन गरेको छ । जिल्लाको १ सय २९ सामुदायिक विद्यालयहरु मध्ये १ सय २४ वटा विद्यालयमा व्यवस्थापन समिति गठन भइसकेको जिल्ला शिक्षा कार्यालय भक्तपुरले जनाएको छ ।
नेपाल सरकारले शिक्षा ऐन २०२८ को आठौं संशोधन गर्दै यसअघि गठन भएका व्यवस्थापन समिति खारेज गरी नयाँ व्यवस्था अनुसारको विद्यालय व्यवस्थापन समिति गठन गर्नुपर्ने व्यवस्था गरेको थियो । शिक्षा मन्त्रालयले सो व्यवस्था अनुसार माघ मसान्तभित्र नयाँ व्यवस्थापन समिति गठन नगरे सरकारले दिने सबै सेवा सुविधा र शिक्षकको तलब समेत रोक्का राख्ने परिपत्र गरेको थियो ।
सो व्यवस्था अनुसार जिल्लामा निर्धारण गरिएका ८ वटा मध्ये बागेश्वरी, ताथली, जोरपाटी, चाँगुनारायण र पद्म स्रोतकेन्द्र गरी पाँच वटा स्रोतकेन्द्र अन्र्तगतका विद्यालयहरुमा व्यवस्थापन समिति गठन पुरा भईसकेको जिल्ला शिक्षा अधिकारी अजुर्नबहादुर रायमाझीले जानकारी दिए । जिल्लाको सानोठिमि स्रोतकेन्द्र अन्तर्गतको आदर्श उच्च माध्यामिक विद्यालय लाय्कू ठिमि, अरनिको स्रोतकेन्द्र अन्तर्गतको अनन्तलिङ्गेश्वर प्रा.वि. र खरीपाटी स्रोत केन्द्र अन्तर्गत ३ वटा विद्यालयमा समिति गठन बाँकी रहेको जिशिअ रायमाझीले बताए ।
उनले कुनै कारणवशः माघ मसान्तभित्र व्यवस्थापन समिति गठन हुन नसके विद्यालयले पाउने सेवा सुविधा सबै रोक्का गरिदिने उनले बताए । जिल्लामा एक सय २९ सामुदायिक विद्यालय मध्ये ४२ वटा माध्यमिक विद्यालय र बाँकी सबै आधारभूत विद्यालय अन्र्तगत रहेका छन् ।
सानो ठिमि स्रोत केन्द्र अन्तर्गतको आदर्श उमावि लाय्कू ठिमिमा निमित्त प्रधानाध्यापकको विवादले विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको विद्यालय निरिक्षक रुद्रशर्मा पौडेलले जानकारी दिए । विद्यालयका निमित्त प्रधानाध्यापक विद्यादेवी चित्रकारको गत मंसिर २० गते अनिवार्य अवकाश भएपछि सो विद्यालयमा निमित्त प्रधानाध्यापक नियुक्त हुन सकेको छैन् । विद्यालयको पुरानो व्यवस्थापन समितिले विद्यालयमा कार्यरत शिक्षक बुद्धिकुमार घोलाई निमित्त प्रअ नियुक्त गरेपनि वरिष्ठताको विवादले उनको नियुक्तिले वैधानिकता प्राप्त गर्नसकेको छैन् । विद्यालयमा विवाद भएपनि सरकारको निर्देशन अनुसार माघ मसान्तभित्र नै समिति गठन गर्ने तयारी भइरहेको पौडेलले बताए ।
त्यसैगरि अरनिको स्रोत केन्द्र अन्र्तगतको अनन्तलिङ्गेश्वर प्रा.वि.मा विद्यार्थी संख्या अत्यन्त न्यून भएका कारण व्यवस्थापन समिति गठन हुन नसकेको विद्यालय निरिक्षक विष्णु कायस्थले जानकारी दिए । उनले मंसिरमा विद्यालय निरिक्षणका क्रममा ५÷६ जना मात्र विद्यार्थी देखेपछि विद्यार्थीसंख्या एकदमै कम भएकाले समिति गठन प्रक्रिया अगाडि नबढाएको बताए । माघको दोस्रो साता पुनः विद्यालयको निरिक्षण गरी व्यवस्थापन समिति गठनको प्रक्रिया थाल्ने उनले जानकारी दिए ।
खरीपाटी स्रोत केन्द्र अन्तर्गत वागेहिती प्रावि, नगरकोट निमावि र पञ्चकन्या प्राविमा समिति गठन गर्न बाँकी रहेको विद्यालय निरिक्षक कृष्ण भट्टराईले जानकारी दिए । विद्यालयमा हिउँदे बिदा, विद्यार्थी संख्या अत्यन्त न्यून र स्थानीय भन्दा पनि ईंटाभट्टालगायतका उद्योगमा काम गर्ने मजदुरका छोराछोरी अध्ययन गर्ने भएकाले विद्यालय व्यवस्थापन समिति गठन गर्न कठिनाइ उत्पन्न भएको उनको भनाई रहेको छ ।
ऐनमा विद्यालय व्यवस्थापन समिति ९ सदस्यीय रहने प्रावधान राखेको छ । समितिमा विद्यालयका प्रधानाध्यापक सदस्य सचिवको रुपमा रहने व्यवस्था गरेको छ । पहिलो चरणमा अभिभावकहरु मध्येबाट चार जना छनोट गर्ने र सो चारजना र प्रधानाध्यापक सहितको समितिले विद्यालयका चन्दा दाता मध्येबाट १ र शिक्षा प्रेमी मध्येबाट एक जना छनोट गर्नुपर्ने व्यवस्था गरेको छ । यसरी गठन भएको सात सदस्यीय समितिले विद्यालयमा कार्यरत शिक्षकहरुमध्येबाट एक जना सदस्य छनोट गर्ने र विद्यालय रहेको सम्बन्धीत वडा कार्यालयका वडा अध्यक्ष वा वडा सचिव पदेन सदस्य रहने व्यवस्था गरेको छ ।
सो ९ सदस्यीय समितिले आफुमध्येबाट एक जना अध्यक्ष चुन्ने व्यवस्था गरेको छ । तर वडा अध्यक्ष वा वडा सचिव, प्रधानाध्यापक र शिक्षक प्रतिनिधिले अध्यक्षको दावी गर्न भने पाउने छैन । सामुदायिक विद्यालयहरुको सञ्चालन, व्यवस्थापन, शिक्षक नियुक्ति, शिक्षकको कार्यसम्पादन, मुल्यांकन, बढुवा, सामाजिक लेखा परिक्षण र विद्यालयको आन्तरिक लेखा परिक्षणमा समेत व्यवस्थापन समितिले गर्ने व्यवस्था ऐनमा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *