न्यूजिल्याण्डमा रक्सी पिएर गाडी हाँक्ने नेपाली युवकलाई देश निकालाको आदेश
न्यूजिल्याण्ड । उनले रक्सी पिएर गाडी चलाए र समातिए । अधिकांस व्यक्तिहरु यस्तो लफडामा पर्दा एक थप्पड र निश्चित जरीवानामा कुरा सकिन्छ । तर दिपेन्द्र प्रधानले भने यसको निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।
रक्सी पिएर गाडी चलाएको र प्रहरीको अगाडि नरोकिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । पछि उनलाई मुद्दा नचलाइकन छाडियो । तर न्यूजिल्याण्डको अध्यागमनले उनलाई देश छोड्न भनिरहेको छ ।
पार्टनरसिप भिसामा एक वर्ष अगाडि न्यूजिल्याण्ड आएका दिपेन्द्र केही हप्ता अगाडि तौरङ्गामा आफ्ना केही साथीहरुसँग मस्ती गरिरहेका थिए । सामान्यतया वियर मात्र पिउने यी २९ वर्षीय युवालाई साथीहरुले त्यस दिन ह्वीस्कीको स्वाद चखाए । स्टुडेन्ट भिसामा न्यूजिल्यान्ड आएकी र पछि वर्क भिसा पाएकी उनकी श्रीमती सर्जना दुवाल आफ्नो काममा थिइन् । राति एक बजे दिपेन्द्रले गाडी चलाएर घर जाने निर्णय गरे । बाटोमा प्रहरीले उनलाई रोक्न खोज्यो । उनी अली अगाडि पुगेर मात्र रोकिए । सुरुमा आफूले प्रहरीले लाइट बालेको नदेखेको उनले बताए ।
प्रहरीको रिपोर्टमा उनले अल्कोहल पिएको देखियो । उनलाई नशालु पदार्थ सेवन गरेर गाडी चलाएको र प्रहरीको अगाडि नरोकिएको अभियोग लगाइयो ।
नशालु पदार्थ सेवन गरेर गाडी चलाएको आरोपमा उनलाई ८ सय ६० डलर जरीवाना गराइयो भने प्रहरीको अगाडि नरोकिएको आरोपमा थप ५०० तिराइयो । उनलाई गाडी चलाउन पनि अयोग्य ठहर गरियो ।
त्यसको एक महिनापछि एउटा पत्र दिपेन्द्रको हातमा पर्यो । त्यसमा उनलाई चाँडै देश निकाला गर्न सकिने आशय उल्लेख थियो ।दिपेन्द्र र सर्जना मध्यमवर्गीय परिवारका हुन् तर घर फर्किनु पर्यो भने पहिलेको जस्तो अवस्था रहँदैन ।
दिपेन्द्र भक्तपुरका हुन् । नेपालमा छँदा उनको आफ्नै अफिस थियो, जहाँ उनी वेबसाइट डेभलपरको रुपमा काम गर्थे । उनी सर्जनाको पढाईमा भरथेग गरिरहेका थिए । सर्जनाले २०१४ मा स्टुडेन्ट भिसाको लागि आवेदन दिइन् । तर एक वर्षसम्म कुनै जवाफ आएन । यो जोडी न्यूजिल्याण्डमा गएर पढ्न चाहन्थ्यो किनकी यहाँको शैक्षिक प्रणाली राम्रो छ भन्ने उनीहरुले सुनेका थिए । त्यही बेला नेपालको जमिन हल्लियो ।
‘हामीले जताततै रगत देख्यौं,’ सर्जना भन्छिन्, ‘मानिसहरु रोइकराइ गरिरहेका थिए । जताततै लाश छरिएका थिए । धुलो उडेको थियो । हामी आफ्नो परिवार भेट्न गयौं । सडकहरु सबै बन्द थिए । घरहरुको भग्नावशेषमा कुल्चिदै हामी आफ्नी आमालाई भेट्न पुग्यौं । उहाँ रोइरहनु भएको थियो । एकै दिनमा हामी मध्यवर्गीयबाट विपन्न परिवारमा परिणत भएका थियौं । उनीहरु केही महिनासम्म पालमुनी बसे । त्यसपछि सर्जनाको भिसा लाग्यो । यो जोडीका लागि नयाँ जीवन बाँच्ने अवसरको ढोका खुल्यो । ‘म सधैं आफ्नी पत्नीलाई राम्रो शिक्षा दिन चाहन्थेँ ताकि उनको भविष्य चम्किलो होस्, तर मेरो एउटा गल्तीले सबै सत्यानाश भयो,’ दिपेन्द्र चुक्चुकाउँदै भन्छन् ।
सर्जना आफ्नो घरको झ्यालबाट बाहिर हेरिरहेकी छिन्, प्रहरी आउने र उनको श्रीमानलाई लैजाने त्राश बोकेर । लाइसेन्स गुमाउनु सानो कुरा हो, देश निकाला हुने वास्तविक खतराको तुलनामा, उनले भनिन् ।
दिपेन्द्रलाई देश निकाला हुनबाट रोक्न उनीहरु कानूनी लडाई लडिरहेका न्यूजिल्याण्डको एक वेबसाइट स्टफले लेखेको छ ।
फर्केर नेपाल जानुको अर्थ थप संघर्ष हो । त्यहाँ म यति सजिलै जागिर पाउन सक्दिनँ । मेरी श्रीमतीको हकमा पनि त्यही हो । त्यहाँ जागिर पाउन एकदमै कठिन छ । फर्केपछि हाम्रो जीवन ठूलो कठिनाइमा फस्नेछ । त्यसैले म न्यूजिल्याण्डमा बस्नका लागि कानूनी उपायको खोजी गर्ने प्रयास गरिरहेको छु, दिपेन्द्र भन्छन् ।
उनले यसअघि अध्यागमनका सल्लाहकारसँग कुरा गरिरहेका थिए तर असफल प्रयासपछि उनलाई तौरंगाको ब्यारिस्टर नेड बुर्ककहाँ सिफारिस गरियो । दिपेन्द्रमाथिको अभियोग उल्टियो भने न्यूजिल्याण्ड बस्न पाउने सम्भावना बढ्ने बुर्कको विश्वास थियो ।
देश निकालाको सूचनाको आधार भनेको उनीमाथि लागेको अभियोग नै हो, बुर्कले भनेका थिए, यदि अभियोग उल्टाउन हामी सफल भयौं भने उनको इमिग्रेसन स्टाटसमा सकारात्मक प्रभाव पर्नेछ । गत अक्टोबरमा बुर्क दिपेन्द्रमाथिको अभियोग उल्टाउन सफल पनि भए । तर गत हप्ता दिपेन्द्रले अर्को पत्र पाए । यो देश छोड्ने आदेश थियो ।
न्यूजिल्याण्ड अध्यागमनका सहायक महाप्रवन्धक पिटर डेभोइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, दिपेन्द्रलाई कुनै अभियोगबिना छोडिए तापनि उनले आफ्नो गल्ति स्वीकार गरिसकेका छन् । त्यसैले अध्यागमन ऐन २००९ को धारा १५७ मुताबिक अध्यागमन अधिकृतले उनलाई देश निकालाको निम्ति योग्य ठहर्याउन सक्छन् ।
मैले ठूलो पाठ सिकेँ, दिपेन्द्र भन्छन्, त्यो दिनको घटनाप्रति मलाई पश्चाताप छ । त्यो दिनपश्चात मैले रक्सी छोएको पनि छैन । अब जीवनभर रक्सी नपिउने प्रण गरेको छु किनकी यसले मेरो जीबन बर्बाद गरिदियो । म खालि एउटा मौका चाहन्छु कि म सुध्रिएँ भनेर प्रमाणित गर्ने ।