एनसेलले ल्यायो नयाँ एसएमएस प्याक, प्रति एसएमएस अब ३ पैसा
काठमाडौं, १४ माघ । जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नयाँ एसएमएस प्याक नामक आकर्षक योजना ल्याएको छ। यस अन्तर्गत सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्नेछन्।
नयाँ एसएमएस प्याक आजबाट सुरु भई १५ दिन सम्म संचालनमा रहने छ। यो एसएमएस प्याकअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार करसहित ५ रुपैयाँमा १५० एसएमएस वा २५ रुपैयाँमा १ हजार एसएमएस गर्न सक्ने एनसेलले जनाएको छ। करसहित २५ रुपैयाँमा १ हजार एसएमएसको प्याक सुचारु गर्ने ग्राहकले ३ पैसामै कुनै पनि एनसेल नम्बरमा एसएमएस गर्न सक्नेछन्।
यसका लागि एस्ट्रिक्स १७११९ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार सुचारु गर्न सकिने बताइएको छ। एसएमएस मार्फत पनि ग्राहकले यो योजना सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ। १५० वटा एसएमएस पाइने प्याक सुचारु गर्न आफ्नो म्यासेज बक्समा गई अंग्रेजीमा ५ टाइप गरी १७११९ मा एसएमएस पठाउन सकिनेछ। त्यस्तै १ हजार एसएमएस पठाउन सकिने प्याक सुचारु गर्न म्यासेज बक्समा गई अंग्रेजीमा २५ टाइप गरी १७११९ मा एसएमएस पठाई सेवा सुचारु गर्न सकिनेछ। यी दुबै प्याक सुचारु भएको दिनदेखि ३० दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ।
एस्ट्रिक्स ९०१ ह्यास डायल गरी ग्राहकले आफ्नो बाँकी रहेको एसएमएसको बारेमा पनि जनकारी लिन सक्नेछन्।