निर्वाचनका लागि तयार रहन प्रधानमन्त्रीले दिए सशस्त्र प्रहरी बललाई निर्देशन दिए
चितवन, १३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको लागि तयार रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बलले कानुनको कार्यान्वयनको लागि महत्वपूर्ण भूमिका खेलेको प्रशंसा गर्दै प्रधानमन्त्रीले नागरिकलाई सोचेअनुसार कै सुरक्षा दिन सफल भएको बताए । स्थानीय तहको निर्वाचनमा पनि सशस्त्र प्रहरीका भूमिका महत्वपूर्ण हुने उनको भनाई छ ।
प्रधानमन्त्री दाहालले सशस्त्र प्रहरी महाविद्यालय लामापाटक पोखरामा आयोजित दीक्षान्त समारोहमा यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले संविधानले देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश बनाएको बताउँदै देशको समृद्धि, सुशासनका साथै राष्ट्रिय अखण्डता जगेर्नाका लागि सशस्त्र प्रहरीको भूमिका अझै महत्वपूर्ण हुने बताए ।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले राष्ट्रको बृहत्तर हित र जनताको सुरक्षाका लागि प्रहरी बलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै बढ्दो सुरक्षा चुनौतीको सामनाका लागि राज्यका सबै सुरक्षा निकायबीच सहयोग र समन्वय आवश्यक रहेको धारणा राखे ।
तालिम सकेर दीक्षित बनी कार्यक्षेत्र प्रवेश गरेका २५ जना सशस्त्र प्रहरी निरीक्षकहरुलाई प्रधानमन्त्रीले पुरस्कार वितरण पनि गरे ।