गायक यमबुद्धको शव शनिबार नेपाल ल्याइने
। सुशील प्रजापति ।
काठमाडौं । चर्चित र्यापर यम बुद्ध (अनिल अधिकारी) को शव शनिबार काठमाडौं ल्याइने भएको छ । इत्तेहाद एयरलाइन्सबाट अधिकारीको शव काठमाडौं ल्याइने भएको लण्डनमा रहेका उनका आफन्तले जनाएका छन् । विमानस्थल आइपुग्ने शव त्यस त्यहाँबाट सिधै प्रज्ञा भवन कमलादी लगिने भएको छ । अधिकारीको शव काठमाडौं ल्याइएपछि श्रद्धाञ्जलीका लागि शनिवार अपरान्ह ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिने भएको छ ।
विमानस्थल आइपुग्ने शव त्यस त्यहाँबाट सिधै श्रद्धाञ्जलिका लागि प्रज्ञा भवन लगिनेछ। सोही दिन पशुपतिनाथमा उनको अन्त्येष्टि गरिनेछ। श्रीमतीसहित लण्डनमा बस्दै २९ वर्षीय अधिकारीले माघ १ गते आत्महत्या गरेका थिए । उनको शव लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
लन्डनस्थित नर्थवीक पार्क हस्पिटलमा शवको पोस्टमार्टम गरिएको थियो । पोष्टमार्टम रिपोर्टमा उनको अन्तिम मानसिक स्थिति सन्तुलित नै देखिएको तथा हल्का मादक पदार्थ सेवन गरेको देखिएको उल्लेख छ ।
एक दशकअघि नेपाली र्याप गीतको क्षेत्रमा लागेका अधिकारी साथी नामक गीतबाट युवा माझ चर्चित भएका थिए । उनका मेरो जुत्तामा, साथी, आउँदै छु म, फुटपाथ मेरो घर एल्बम प्रकाशित छन् । पछिल्लो समय उनी खतरा एल्बमको तयारीमा थिए । अधिकारीको निधनपछि खतरा एल्बम निकाल्ने तयारी गरिएको छ ।