तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन नेवि संघको माग

भक्तपुर न्यूज

५ माघ २०७३ १५:३८

तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन नेवि संघको माग

काठमाडौं, ५ माघ । नेपाल विद्यार्थी संघले तोकिएकै समयमा स्ववियु निर्वाचन गर्न माग गरेको छ । काठमाडौंमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै नेविसंघले कुनै पनि हालतमा आगामी फागुन १४ गते स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको हो ।
नेविसङ्घ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नैनसिंह महरले कुनै पनि बहानामा स्ववियुको निर्वाचन रोक्न नहुने धारणा राखे ।
महरले स्ववियु निर्वाचनका लागि विद्यार्थीको उमेरहदबन्दी २८ वर्ष तोक्ने त्रिवि निर्णयको विरोध गर्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् । त्रिभुवन विश्वविद्यालय सिनेट बैठकले गत पुस २० गते फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गर्दै उमेदवारको उमेरहद निर्धारण गरेको थियो ।
लामो समयसम्म स्ववियु निर्वाचन हुन नसकेको परिप्रेक्षमा कम्तीमा एकपटकका लागि उमेरको हदबन्दी नलगाई निर्वाचन प्रक्रिया अगाडि बढाउन नेविसंघले आग्रह गरेको छ । साथै संघले अन्य विद्यार्थी सङ्गठन र वर्तमान राजनीतिक परिवेशलाई मध्यनजर गर्दै मिश्रित निर्वाचन प्रणालीमा सहमत रहेको जनाएको छ ।
महामन्त्री सरोज थापाले केन्द्रीय समितिको निर्णयअनुसार सङ्घले स्ववियु निर्वाचनको तयारीका लागि अध्यक्ष महरको संयोजकत्वमा सात हजार एक सदस्यीय स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति गठन गरेको अवगत गराउँदै सबै विद्यार्थी सङ्गठनको सरसल्लाह र सहमतिमा यथाशीघ्र कार्यतालिका निर्माण गर्न त्रिवि प्रशासनसमक्ष माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *