धोनीले भारतीय टिमको कप्तानबाट राजीनामा दिए
एजेन्सी, २१, पुस । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले भारतको एकदिवसीय र ट्वीट्वान्टी क्रिकेट टिमको कप्तानबाट राजीनामा दिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार धोनीले आफूले कप्तानी छोडेको भारतीय क्रिकेट बोर्ड बिआइसिसीलाई जानकारी गराइसकेका छन्। उनले सन् २०१४ को डिसेम्बरमा भारतको टेस्ट टिमको कप्तानीबाट पनि राजीनामा दिइसकेका छन्। बिआइसिसीका प्रमुख कार्यकारी राहुल जोहरीले भारतीय क्रिकेट टिमका प्रशंसक र बोर्डको तर्फबाट धोनीलाई उनले कप्तानको रुपमा सबै फर्म्याटमा गरेको अभुतपूर्व योगदानका लागि धन्यवाद दिएका छन्।
धोनीले सन् २००४ मा भारतीय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। २००७ मा उनी भारतीय टीट्वान्टी टिमको कप्तान बनेका थिए। उनकै कप्तानीमा भारतले २००७ को टीट्वान्टी विश्वकप जितेको थियो। राहुल द्रबिड पछि धोनीले भारतीय एकदिवसीय टिमको कप्तानी सम्हालेका थिए। उनकै कप्तानीमा भारत सन् २०११ मा अाइसिसी विश्वकप जितेको थियो। सन् २०१३ मा भारतले च्याम्पियन्स ट्रफी जित्दा पनि भारतीय टिम धोनीकै कप्तानीमा थियो। सबै गरेर ३ सय ३१ खेलमा कप्तानी गरेका धोनीको टिमले एक सय ९९ सय एक दिवसीय तथा ७२ ट्वान्टी–ट्वान्टी खेल खेलिसकेको छ।
यस्तै धोनी सन् २००८ देखि २०१४ सम्ममा ६० टेस्ट क्रिकेटमा कप्तानको भूमिका निभाए। क्रिकेटका तीनै संरचनामा धोनी भारतका सबैभन्दा सफल कप्तान मानिन्छन्। धोनीले कप्तानका रुपमा खेलका एक सय ९९ एक दिवसीयमा एक सय १० खेलमा भारत विजयी भएको छ भने ७४ मा पराजित भएको छ। यी खेलमा उनले ६ हजार ६ सय ३३ रन बनाएका छन्। यस्तै ७२ ट्वान्टी–ट्वान्टीमा ४१ खेलमा जित र २८ खेलमा हार व्यहोरेका छन्।
कप्तानका रुपमा उनले ट्वान्टी–ट्वान्टीमा एक हजार एक सय १२ रन बनाएका छन्। धोनीले समग्रमा दुई सय ८३ एक दिवसीय क्रकेट खेलका छन् र ९ हजार भन्दा धेरै रन बनाएका छन्। बिअाइसिसीले नयाँ कप्तानको नाम घोषणा गरेको छैन तर भारतीय टेस्ट टिमको कप्तानी सम्हालिरहेका विराट कोहली नै एकदिवसीय र टीट्वान्टी टिमको पनि कप्तान हुने सम्भावना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतले जनवरी १५ देखि इंग्ल्याण्डसँग एक दिवसीय क्रिकेट श्रृंखला खेल्दैछ। यसमा टेस्ट कप्तान विराट कोहलीले धोनीको ठाउँ लिने सम्भावना छ । यो श्रृँखलामा धोनी खेलाडीका रुपमा भने उपलब्ध हुनेछन्।