हर्क्यूलसको पोष्टमा बार्सिलोनाको ७ गोल
एजेन्सी, ७ पुस । बार्सिलोनाले हर्क्युलसलाई पराजित गरि स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ । गएराति भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा बार्सिलोनाले हर्क्युलसमाथि ७–० को फराकिलो जित निकालेको हो । पहिलो लेगमा १–१ को बराबरीमा रोकिएको बार्सिलोनालाई घरेलु मैदानमा भएको दोस्रो लेगमा शानदार जित हासिल गरेको हो । समग्रमा बार्सिलोनाले हर्क्युलसमाथि ८–१ को जित हात पारेको छ ।
गएराति भएको खेलमा स्टार खेलाडीहरू मेसी, नेइमार र स्वारेजलाई आराम दिइएको खेलमा बार्सिलोनाका लागि आर्डा ट्युरानले ह्याट्रिक तथा लुकास डिग्ने, इभान रेकिटिक, राफिन्हा र पाको एकेसरले एक एक गोल गरेका थिए।
यस्तै गएराति भएको अरु खेलमा फोर्मेनटिरालाई ९–१ ले हराएको सेभिल्ला समग्रमा १४–२ को जितसहित अन्तिम १६ मा पुगेको छ । यस्तै लेगानेसलाई २–१ ले हराएको भ्यालेन्सिया समग्रमा ५–२ तथा ग्रनाडालाई २–० ले हराएको ओसासुना समग्रमा २–१ को जितसहित अन्तिम १६ मा पुगेको छ । स्पोर्टिङ गिजोनलाई दोस्रो लेगमा ३–१ ले हराएको एइबर समग्रमा ५–२ तथा रियल बेटिसलाई ३–१ ले हराएको डिप्रोटिभो ला कोरुना समग्रमा ३–२ को जितसहित अन्तिम १६ मा पुगेका छन् ।