संशोधन बिधेयकको अवरोध नयाँ शिराबाट समाधान गर्नुपर्छ : थापा
भक्तपुर, ६ पुस । राप्रपाका अध्यक्ष कमल थापाले संविधान संशोधन विधेयकको अवरोध हटाउन नयाँ शिराबाट छलफल अगाडि बढाउनुपर्ने बताएका छन् । राप्रपाको मध्याञ्चल क्षेत्रीय भेलाको आज उद्घाटन गर्दै अध्यक्ष थापाले संशोधन विधेयक दर्तासँगै संसद अवरुद्ध, पाँच नं प्रदेशमा देखिएको आन्दोलन तथा मधेशी मोर्चाको मागको सम्बोधन गर्न संशोधन बिधेयकलाई स्थगित गर्दै संसद अवरोधलाई नयाँ शिराका छलफल अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले संशोधन बिधेयकबारे जसरी एमाले संसद अवरुद्ध प्रक्रियामा लागेछ उसले पनि संसदलाई उपयोग गर्दै अघि बढ्नुपर्ने बताए । राप्रपा र राप्रपा नेपालको एकिकरण पश्चात सरकारमा सहभागिताकाबारे सत्ता पक्षबाट प्रस्ताव आएको बताउँदै उनले वर्तमान पनि आफ्ना केही साथीहरु सत्तामा रहेको र अब सरकारमा आउन गरेको आह्रवान सत्ता पक्षको ब्यवहारमै निर्भर हुने जानकारी गराए । यही अवस्थामा मुकदर्शक बनेर भने सरकारमा सामेल नहुने उनले स्पष्ट पारे ।
महाधिबेशन पश्चात हिन्दु राज्यका बारे जनमत संग्रहका लागि दबाव मूलक कार्यक्रम आउने भन्दै त्यो भन्दा पहिला संबिधान संशोधनमा समेत दर्ता गराउने उनले बताए ।
त्यस्तै, राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शम्सेर राणाले संशोधन प्रस्तावको विषयमा बोल्दै नागरिकता र भाषामा बाहेकका सबै जसो कुरा मिलेको बताए । उनले बाँकी सबै कुरा पार्टीको केन्द्रीय अधिवेशनले टुंगो लगाउने समेत बताए ।
राप्रपाको मध्यमाञ्चल स्तरीय कार्यकर्ता भेलामा १९ जिल्लाका अध्यक्ष, सहअध्यक्ष र केन्द्रीय सदस्य गरेर २ सय जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।