एकादेशको कथा बन्दैछ भक्तपुरका उपचार पोखरी

भक्तपुर न्यूज

३० मंसिर २०७३ १०:०८

एकादेशको कथा बन्दैछ भक्तपुरका उपचार पोखरी

भक्तपुर,३० मंसिर । उपचार पोखरीतर्फ कसैको ध्यान जान नसक्दा निमार्णपछि अलपत्र अवस्थामै रहेको छ । भक्तपुरको सल्लाघारी र हनुमानघाटमा निर्माण गरिएको उपचार पोखरीको संरक्षण गर्न नसक्दा यसको लाभबाट वञ्चित बनेका छन् भक्तपुरबासीहरू । निर्माणपछि प्रयोगमा आउन नसकेका उपचार पोखरी स्थानीय निकायलाई हस्तान्तरण गर्ने विषय बेला मौकामा उठ्ने गरेतापनि हालसम्म त्यसले पूर्णता भने पाउन सकेको छैन । उपचार पोखरीको व्यवस्थापन कसले गरेको छ व्यवहारमा यसको तथ्य जानकारी रहेको देखिँदैन् । भक्तपुरका दुई उपचार पोखरी केयूकेयलको निगरानी रहेता पनि यसको संरक्षणमा भने उसको कुनै उपस्थिति नरहेको उपचार पोखरी आसपासका बासिन्दाको आरोप रहेको छ ।
भक्तपुरका स्थानियहरू भन्छन्, उपचार पोखरी बनाउन त बनायो तर यसको व्यवस्थापन भने कसैले गर्न नसक्दा अलपत्र अवस्थामै रहेका छन् । उपत्यकामा रहेको ढल शुद्धिकरण तथा दूषित पानी प्रशोधन गर्ने एकमात्र विकल्पको रुपमा रहेको ढल प्रशोधन केन्द्र अर्थात् उपचार पोखरी बन्द हुँदा विभिन्न स्थानबाट आउने ढल सिधै खोलामा मिसिने गरेको छ तर पनि यसतर्फ कसैको ध्यान जान नसक्दा समस्या दिनप्रतिदिन बढ्दै गएको छ । दशकौंसम्म पनि उपचार पोखरीको संरक्षण गर्ने नाममा मोटो रकम सक्दै आएका संघसंस्था कता छन् भन्ने जन प्रश्न चर्को रुपमा उठेको छ यतिबेला । काठमाडौं, ललितपुर र भक्तपुरमा गरी चार स्थानमा रहेको ढल प्रशोधन केन्द्र करिब दुई दशक अघिदेखि बिग्रँदा उपत्यकाका विभिन्न स्थानबाट आउने ढल खोलामा मिसिएर वातावरण नै दूषित बन्दै गएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड ढल सञ्चालन महाशाखा जानकारी दिन्छ काठमाडौं स्थित पशुपति ढल प्रशोधन केन्द्र, ललितपुरको धोविघाट ढल प्रशोधन केन्द्र र भक्तपुरको हनुमानघाट र सल्लाघारी ढल प्रशोधन केन्द्र बन्द हुँदा ढल खोलामा मिसाउनुको विकल्प छैन ।
ढल प्रशोधन केन्द्रहरू मर्मत गर्न धेरै लगानी लाग्ने हुँदा त्यसतर्फ खासै कसैको पनि ध्यान नगएको जनाउँदै ‘यसलाई पुनः सञ्चालनमा ल्याउन आर्थिक सहयोग गर्ने दाताको नै आवश्यकता छ । ढल प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा उपत्यकाबासीहरूको घरघरबाट निष्कने ढल खोलामा मिलाएर वातावरण प्रदुुषित हुने गरेको शाखा जानकारी दिन्छ । ढल प्रशोधन केन्द्रलाई पुनःसञ्चालनमा ल्याउन ढल व्यवस्थापनको वैकल्पिक खोजी गर्नुपर्छ ।’
जर्मन प्राविधिक सहयोग संस्थाका प्राविधिक
राजेन्द्र प्रधानाङ्गले उपत्यकामा चारवटा ढल प्रशोधन केन्द्र भएपनि अहिले कुनैपनि सञ्चालनमा आउन नसकेको बताए । उनका अनुसार ढल प्रशोधनमा चारदेखि पाँचवटा पोखरी रहने हुँदा पहिलो पोखरीमा जम्मा भएको दूषित पानी पाँचौ पोखरीसम्म आइपुग्दा ढलको पानी पूर्णरुपमा शुद्ध भई खोलामा मिसाउन योग्य हुन्छ । करिब छ महिनामा मर्मत गनुपर्ने उक्त ढल प्रशोधन केन्द्रले प्राकृतिक रुपमा नै ढलको पानीलाई शुद्धिकरण गर्छ ।
उपचार पोखरीको रुपमा हेरिने उक्त ढल प्रशोधन केन्द्रलाई पुनः सञ्चालनमा ल्याउन सके उपत्यकाका खोलाहरू दूषित नहुने भन्दै उनले भने, ढल प्रशोधन केन्द्रहरू मानव निर्मित भए पनि यसले भने प्राकृतिक रुपमा नै फोहोर पानीलाई प्रशोधन गरी पानीलाई शुद्धिकरण गर्छ । उपत्यकामा रहेका ढल प्रशोधन केन्द्रको बारेमा आफूले अध्ययन गरेको भन्दै प्रधानाङ्गले काठमाडौं, ललितपुर र भक्तपुर नगरपालिकाले संयुक्त रुपमा प्रयास गर्ने हो भने प्रशोधन केन्द्र सञ्चालनमा आउनसक्छ ।
भक्तपुर नगरपालिका सेनिटेसन उपशाखा जानकारी दिन्छ भन्डै २२ वर्ष अघिदेखि ढल प्रशोधन केन्द्र बन्द हुँदा अहिले नगरपालिकालाई ढल व्यवस्थापन गर्न ठूलो समस्या भएको छ । ढल प्रशोधन केन्द्र मर्मत, रेखदेख र पुनः निर्माण गर्ने काम काठमाडौं उपत्यका ढल व्यवस्थापनको भएकाले यसबारेमा नगरपालिकाले मात्र चाहेर केही गर्न सक्दैन । ढल व्यवस्थापन गर्ने जिम्मेवारी पाएको निकायको यसतर्फ ध्यान जान नसक्दा घरघरबाट निस्कने ढल खोलामा मिसाउनुको विकल्प देखिँदैन शाखाका एक कर्मचारी भन्छन् ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका प्रमुख भने पहिला सञ्चालनमा आएका ढल प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा उपत्यकाका खोलाहरू दूषित भएको बताउँछन् । ढलको पानीलाई शुद्धिकरण गर्ने एकमात्र विकल्प ढल प्रशोधन केन्द्र नै भएको चर्चा गर्दै उनले भने, ढल प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा ढलको पानीका कारण विभिन्न सङ्क्रमण युक्त रोग लाग्ने खतरा बढ्दै गएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *